चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेकपा एमालेको दशौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा अध्यक्ष ओलीको उत्तराधिकारी को होला भन्ने विषयमा पनि बहस शुरू भएको छ ।
अहिलेको महाधिवेशनमा एमालेको हाइ–कमाण्ड फेरि ओलीकै काँधमा रहने निश्चित जस्तै छ ।
ओलीपछि पार्टीको नेतृत्व जिम्मा लगाउने व्यक्ति पनि उनले यही महाधिवेशनबाट तयार गर्दैछन् । उनले अहिलेबाट प्रोजेक्सन गरेको व्यक्तिलाई नै ओलीले ११ औं महाधिवेशनबाट पार्टी सत्ताको बागडोर हस्तान्तरण गर्नेछन् ।
एकताको महाधिवेशन भनेर ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास अघि बढाएका छन् । पार्टीको तल्लो तहको अधिवेशनमा नै ओलीको सर्वसम्मतिको प्रयास अभ्यास भइसकेको छ । त्यसो हुँदा एमालेको सर्वोच्च कार्यकारी निकाय केन्द्रीय कमिटी पनि सर्वसम्मतिमा नै बन्ने निश्चित प्रायः छ ।
सर्वसम्मतिबाटै नेतृत्व चयन हुँदा ओलीले जसलाई पार्टी महासचिवको जिम्मेवारी दिन्छन्, त्यो नेता नै एमालेमा ओलीपछिको उत्तराधिकारी हो । कम्युनिस्ट पार्टीमा समग्र पार्टी सञ्चालनको प्रशासनिक जिम्मेवारी महासचिवलाई हुन्छ । एमाले बहुपदीय प्रणालीमा छ । एमालेमा वरीयताको हिसाबले महासचिव पद सातौं हो, तर जिम्मेवारीको हिसाबले अध्यक्षपछिको दोस्रो महत्त्वपूर्ण पद हो ।
हुन त एमालेको विधान महाधिवेशनले नयाँ पद सिर्जना गरेको छ, त्यो हो वरिष्ठ उपाध्यक्ष । तर, वरीयतामा एमालेमा यो तेस्रो पद हो । दोस्रो वरियतामा वरिष्ठ नेता हुन्छन्, तर उनको कुनै कार्यकारी अधिकार हुँदैन । अध्यक्षमा ओली नै दोहोरिन लागेकाले यसपटक एमालेमा वरिष्ठ नेता नरहने लगभग पक्काजस्तै छ ।
एमालेको विधानले वरिष्ठ उपाध्यक्षलाई केही सीमित अधिकार र कर्तव्य तोकेको छ । एमालेकै नेताहरूको भनाइमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पद नेताहरूको व्यवस्थापनका लागि सिर्जना गरिएको हो । आगामी महाधिवेशनबाट ओलीले जोजसलाई वरिष्ठ उपाध्यक्ष र महासचिवको जिम्मेवारी दिन्छन्, तिनैमध्येका एक एमालेमा ओलीको उत्तराधिकारी हुन् ।
एमालेका वर्तमान महासचिव ईश्वर पोखरेल दुई कार्यकाल पार्टीको महासचिव भइसकेका छन् । विधानअनुसार उनी फेरि सोही पदमा दोहोरिन पाउँदैनन् । उनले वरिष्ठ उपाध्यक्ष बन्ने दाबी गरेका छन् । उनी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बने भने पनि उनले एमालेको नेतृत्व गर्ने अवसर भने पाउने छैनन् । उमेरका कारण उनी बाहिरिनुपर्ने बाध्यता हुनेछ ।
अहिले विष्णु पौडेल र घनश्याम भुसाल एमालेको उपमहासचिव छन् । एमाले कार्यकर्ताले यी दुवैलाई पार्टी नेतृत्वमा पुग्न सक्ने नेताको रूपमा लिन्छन् ।
समन्वयकारी भूमिका र पार्टीभित्र पनि ‘सर्वमान्य’ छवि बनाएका पौडेल भावी नेतृत्वका लागि प्रमुख दाबेदार हुन् । अध्यक्ष ओलीको विश्वास र पार्टीका नेताहरू तथा संगठनभित्रको पकडका कारण ओलीको उत्तराधिकारी बन्न सबैभन्दा ठूलो दाबेदारी पौडेलको छ ।
एमालेको भावी नेतृत्वका रूपमा हेरिएका अर्का नेता हुन्, शंकर पोखरेल । पोखरेल ओलीका अनन्य सहयोगी पनि हुन् ।
पोखरेलको सम्बन्ध ओलीसँग त प्रगाढ छ नै एमालेको आन्तरिक राजनीतिमा बलियो फ्याक्टर बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ ।
तर, संगठनमा भने पोखरेलको पक्कड पौडेलसरह छैन । आफ्नै जिल्लामा समेत पोखरेल पार्टीभित्र सर्वमान्य बन्न सकेका छैनन् ।
एमालेमा ओलीको उत्तराधिकारीका रूपमा अहिले सीमित अनुहार मात्र प्रस्टसँग अगाडि आएका छन् । आगामी महाधिवेशनमा ओलीले कसलाई अघि बढाउँछन्, भन्ने कुराले को हाइ–कमाण्डको बाटोमा अघि बढ्छ भन्ने निर्धारण हुन्छ ।
यसबारे कुनै निष्कर्षमा पुग्नुअघि केही सन्दर्भहरू हेरौं :
एमालेको विधानअनुसार ७० वर्ष उमेर पूरा भएपछि पदाधिकारी तहमा उम्मेदवारी दिन पाइँदैन । एमालेको विधानले हरेक पाँच वर्षमा महाधिवेशन आयोजना गर्ने व्यवस्था गरेको छ ।
एमालेको ११ औं महाधिवेशन २०८३ मंसिरमा हुनुपर्छ । त्यसबेलासम्म एमालेका नेताहरू ईश्वर पोखरेल (६८) र सुवास नेम्वाङ (६९)ले उमेर हदका कारण उम्मेदवार समेत बन्न पाउँदैनन् । ओलीसँग संघर्ष गरिरहेका नेता भीम रावल (६५) २०८३ असारमा नै ७० वर्ष पुगिसक्छन् । त्यसो हुँदा उनी पनि अध्यक्षको उम्मेदवार बन्नबाट बञ्चित हुन्छन् ।
भलै, रावलले दशौं महाधिवेशनमा नै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापनसँग संघर्ष गरिरहेका रावललाई ओलीसँग निर्वाचनमा भिडेर जीत निकाल्नु फलामको च्युरा चपाउनु बराबर हुने अवस्था छ ।
एमालेकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य (६८) एमाले विभाजन हुनुअघि ओलीको तीव्र आलोचक थिइन्, पछि एमाले संस्थापनले उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनायो । उमेर हदका कारण अर्को महाधिवेशनमा शाक्य नेतृत्वको दाबीबाट बाहिरिने छिन् ।
एमालेमा अहिले उपाध्यक्ष रहेका नेता युवराज ज्ञवाली पनि पार्टीको नेतृत्वमा उदाउने गरी राष्ट्रिय राजनीतिको सीनमा छैनन् ।
एमालेका उपमहासचिव घनश्याम भुसाल (६०) र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे (६३) ओली क्याम्पमा थिएनन् । त्यसो हुँदा अहिले ओलीले उनीहरूलाई नेतृत्व दिने गरी अगाडि नबढाउने निश्चितप्रायः छ । उनीहरू एमालेको १२ औं महाधिवेशनमा नेतृत्वको दाबेदार बन्न सक्छन् ।
नवौं महाधिवेशनबाट सचिव बनेका पृथ्वी सुब्बा गुरूङ (६४) ले एमाले माओवादी एकता नहुँदासम्म संगठन विभाग प्रमुख भएर काम गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री भएका उनी ओलीका भरपर्दा सहयोगी हुन् । तर, ओलीले गुरुङलाई पार्टीको नेतृत्वदायी भूमिका दिने गरी अगाडि बढाउने सम्भावना देखिँदैन ।
एमालेका अर्का सचिव एवं पार्टीका प्रवक्ता रहेका नेता प्रदीप ज्ञवाली (५९) पनि ओलीका विश्वासिला सहयोगी हुन् । पार्टीमा उनीभन्दा सिनियर नेता ओली खेमामा भएका कारण तत्काल ज्ञवाली पनि नेतृत्वको दाबेदार छैनन् ।
एमालेमा सचिव रहेका गोकर्ण विष्ट (५६) युवाहरू र जनसंगठनमा लोकप्रिय छन् । लामो समय ओलीविरोधी खेमामा रहेर काम गरेका विष्टलाई तत्कालै नेतृत्वदायी भूमिकामा अघि बढाउने सम्भावना देखिँदैन ।
एमालेको पदाधिकारी तहमा कान्छो उमेरका नेता हुन्, योगेश भट्टराई (५५) । नवौं महाधिवेशनबाट सचिव बनेका उनले प्रचार विभाग प्रमुख भएर काम गरेका छन् ।
उनले पनि लामो समय पार्टीमा संस्थापनभन्दा भिन्न खेमामा रहेर काम गरे । शुरूमा वामदेव गौतम र पछि माधव नेपालसँग निकट भएर काम गरेका भट्टराईलाई भविष्यमा एमालेको नेतृत्वको रूपमा कार्यकर्ताले हेरेको भए पनि तत्काल नेतृत्वको दौडमा छैनन् ।
एमालेका अर्का सचिव भीम आचार्य (६४) नेतृत्वको सीनमा देखिँदैनन् । विगतमा झलनाथ खनाल–माधव नेपालसँग निकट रहेर काम गरेका आचार्यको आफ्नै भूमिकाका कारण संगठनात्मक पकड कमजोर हुँदै गएको विश्लेषण एमालेभित्र हुने गरेको छ ।
ओलीका विश्वासपात्र नेताहरू विष्णु पौडल (६२) र शंकर पोखरेल (५९) मात्रै ओलीपछिको अध्यक्षका लागि दाबेदारका रूपमा सीनमा छन् ।
एमाले र माओवादी केन्द्र एकता गरेर नेकपा बनाउने बेलामा ओलीको सबैभन्दा निकट रहेर काम गरेका थिए, विष्णु पौडेलले । एमाले र माओवादी केन्द्रलाई मिलाउने मुख्य भूमिका निर्वाह गर्नेमा ओली र प्रचण्डपछि विष्णु पौडेल र जनार्दन शर्मा थिए ।
त्यसबेला, ओली र प्रचण्ड दुवैको विश्वास जितेका पौडेल दुई पार्टी मिलेर बनेको विशाल पार्टी नेकपाको महासचिव भए । एमालेको महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेल पछाडि परे । ओलीले विश्वास गरेको र पार्टी एकतामा योगदान पुर्याएका कारण उनी महासचिव बन्न सकेका थिए ।
विष्णु पौडेलको अर्को क्षमता छ, नेता कार्यकर्तासँग चाँडो घुलमिल हुन सक्ने र समन्वयकारी भूमिका निर्वाह गर्ने । त्यही समन्वयकारी भूमिकाकै कारण एमाले र माओवादी मिलाउने काममा उनी सफल भएका थिए ।
नेकपाकालीन समयमा र अहिले एमालेमा पनि संगठन विभाग प्रमुख भएर काम गरेका कारण पौडेलले देशभरका नेता कार्यकर्तामाझ सम्बन्ध बनाएका छन् ।
एमाले अध्यक्ष ओलीले एमालेलाई नेकपाको निरन्तरता पनि भन्दै आएका छन् । अहिलेको एमालेलाई नेकपाको निरन्तरताको रूपमा मान्दा विष्णु पौडेलको दाबेदारी स्वतः मजबुत बन्न पुग्छ ।
त्यसबोहक, राजकीय जिम्मेवारीका हिसाबले पौडेल रक्षा र अर्थसहित उपप्रधानमन्त्री भइसकेका छन् । उनी दुईपटक अर्थमन्त्री हुँदा ल्याएको बजेट लोकप्रिय बन्यो । राजकीय जिम्मेवारीमा पनि उनले आफूलाई अब्बल साबित गर्न सकेका छन् ।
ओलीका अर्का विश्वासपात्र शंकर पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को बलिया समर्थक हुन् । ओली खेमामा सबैभन्दा तार्किक र वैचारिक नेताको रूपमा पोखरेललाई लिइन्छ ।
पोखरेलसँग २०६६ मा माधव नेपाल प्रधानमन्त्री हुँदा सूचना तथा सञ्चार मन्त्री र २०७४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरेको अनुभव छ ।
एमालेको नवौं महाधिवेशनमा पोखरेलले घनश्याम भुसालसँग उपमहासचिवमा हारेका थिए । त्यसयता उनी एमालेको स्थायी समिति सदस्य छन् ।
तत्कालीन नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डबीच खटपट हुँदा दुई नेतालाई मिलाउन पोखरेलले भरमग्दुर प्रयास गरेका थिए । त्यसबेला दुई नेताको विवाद समाधान गराउन उनी हरेक साता लुम्बिनीबाट काठमाडौं धाइरहेका हुन्थे । उनले ओली र प्रचण्डसँग पटक–पटक एक्लाएक्लै भेटवार्ता गरेर विवाद मिलाउने प्रयास गरेका थिए ।
पौडेल र पोखरेल दुवैको राजनीतिक भूगोल भने लुम्बिनी प्रदेश हो । पौडेल बुटवल र पोखरेल दाङबाट निर्वाचन जितेका हुन् । लुम्बिनी प्रदेशको राजधानी तोक्ने सन्दर्भमा भने यी दुवै नेता आमनेसामने भएका थिए ।
पौडेल बुटवलमा राजधानी राख्न चाहन्थे भने पोखरेल दाङ लैजान चाहन्थे । अन्ततः राजधानी तोक्ने विषयमा पोखेरल नै सफल भए । त्यसबेला, पौडेलले राजधानी छाडिदिएबापत उनलाई संघीय सरकारमा अर्थमन्त्री बनाइएको चर्चा चल्ने गरेको थियो ।
पोखेरलभन्दा पौडेल सिनियर नेता हुन् । एमालेभित्र अध्यक्ष ओली र माधव नेपाल खेमा बीचको विवाद समाधान गर्न पनि पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एमालेको विवाद समाधान लागि भएको १० बुँदे सहमतिको खाका विष्णु पौडेल अर्थमन्त्री हुँदा उनकै कार्यकक्षमा कार्यदलको बैठक बसेर टुंग्याइएको थियो । त्यसबाहेक, माधव नेपाल खेमाले एमाले छाडेर नयाँ पाटी बनाउँदा धेरैजसो नेता कार्यकर्तालाई माधव नेपाल पक्षमा नजान पौडेलले नै रोकेका थिए ।
एमाले विभाजनको अन्तिम समयसम्म पनि पौडेल माधव नेपालको निवासमा गएर पटक–पटक छलफल गरेर विवाद समाधानका लागि पहल गरेका थिए । भलै, यसमा भने उनी सफल हुन सकेनन् ।
पार्टीको संगठन विस्तार र आवश्यक पर्दा आर्थिक व्यवस्थापनमा समेत पौडेलले सक्षमता देखाएका कारण ओली पौडेलसँग अनुगृहीत रहेको ओलीनिकट नेताहरू नै बताउँछन् । पौडेलले पनि भविष्यमा एमालेको हाइ–कमाण्ड सम्हाल्ने योजनासहित रणनीतिक हिसाबले काम गरिरहेका छन् ।
पछिल्ला दिनमा आगामी महाधिवेशनबाट बनाउने टीमको बारेमा पनि पौडेलले ओलीसँग परामर्श थालेका छन् । ओली निवासमा एमालेको आगामी टीमको बारेमा छलफल शुरू भइसकेको उनीहरू निकट नेताहरूले बताएका छन् । यी छलफलमा पौडेल नै हावी भइरहेका छन् । यसले पनि ओलीको आगामी उत्तराधिकारी पौडेल नै हुन भन्ने संकेत गर्छ ।
ओली र पौडेल दुवैको मनस्थिति बुझेका एमालेका एक नेता भन्छन्, ‘ओलीका लागि अहिले विष्णु पौडेल नै प्राथमिकतामा छन् । शंकर पोखरेल विकल्प हुन् ।’
ती नेताको विश्लेषण अनुसार, आगामी महाधिवेशनबाट पौडेल एमालेको महासचिव बन्नेछन् भने पोखरेल उपमहासचिव बन्ने सम्भावना छ । तर, राष्ट्रपति भण्डारीको साथ लिएर पोखरेलले दबाब बढाउँदा विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउने सम्भावना पनि रहन्छ ।
एमालेका नेताहरू पौडेल र पोखरेलको सन्दर्भमा तेस्रो विकल्पको सम्भावना पनि देख्छन् । नेताहरूको व्यवस्थापनमा दबाब बढ्यो भने त्यसको मारमा ईश्वर पोखरेल पर्नेछन् । त्यसो हुँदा वरिष्ठ उपाध्यक्ष हुने उनको चाहना अधुरै रहने सम्भावना हुन्छ र उनले चार मध्येको एक उपाध्यक्षमा चित्त बुझाउनुपर्छ । यस्तो अवस्थामा, विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेल महासचिव हुनसक्छन् ।
माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरू र माधव नेपाललाई साथ नदिएर एमालेमा बसेका नेताहरूलाई उपाध्यक्ष र सचिवमा व्यवस्थापन गर्ने मनस्थितिमा ओली रहेको उनी निकट स्रोत बताउँछ । त्यसो हुँदा अहिले पदाधिकारीमा रहेको केही नेता बाहिरिने सम्भावना छ ।
एघारौं महाधिवेशनमा अध्यक्षका लागि विष्णु पौडेल र शंकर पोखरेल मुख्य दाबेदारका रूपमा रहने निश्चित छ । त्यतिबेला उनीहरूलाई उमेर पनि बाधक बन्ने छैन । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता पनि त्यतिबेला अध्यक्षका लागि दाबेदारी गर्ने स्थितिमा रहनेछन् ।
महाधिवेशनहरू विधानले तोकेको समयमै हुँदै जाने हो भने शंकर पोखरेल विधानमा अहिले ओलीका लागि गरिएको व्याख्याको जगमा पुनः अध्यक्षको उम्मेदवार बन्न सक्छन् । त्यसो हुँदा एघारौं महाधिवेशनमा विष्णु पौडेल र बाह्रौं महाधिवेशनमा शंकर पोखरेल अध्यक्ष बन्नसक्ने सम्भावना रहेको नेताहरू बताउँछन् । त्यतिबेला उनलाई प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरूको चुनौती रहने छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...