
विवेकशील साझा पार्टीको असन्तुष्ट मिलन पाण्डे पक्षले सिटिजन्स डिस्कसन र राष्ट्रिय जनता दरबार पार्टीसँग हुने भनिएको एकीकरण प्रतिक्रियावादीहरूको गठजोड मात्र भएको टिप्पणी गरेको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै पार्टीको बैठकलाई पनि ‘अवैधानिक’ भनेको छ ।
‘यो लोकतान्त्रिक र प्रगतिशील एकता नभै जनआन्दोलनका उपलब्धि उल्ट्याउन, ७० वर्षको आन्दोलनले स्थापित गरेको लोकतान्त्रिक उपलब्धिमाथि घात गर्ने राजवादीहरूको चालबाजी मात्र हो,’ उनले भने, ‘नेपाली नागरिकहरूको संघर्ष र शहीदको रगतमाथिको खेलबाड हो । यो एकताले वैकल्पिक र अग्रगामी राजनीति माथि कुनै योगदान गर्दैन बरु तीव्र आघात गर्नेछ । अतः यो एकतालाई हामी अस्वीकार गर्ने जानकारी गराउँछौँ ।’
अध्यक्ष रविन्द्र मिश्रले बोलाएको बैठकमा संयोजक मिलन पाण्डे, सचिवालय सदस्यहरु प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश दुई संयोजक अनिमेश मिश्र, बागमती प्रदेश संयोजक रन्जु दर्शना, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट लगायत धेरै केन्द्रीय सदस्यहरू बैठक अवैधानिक भन्दै अनुपस्थित थिए ।