
नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलमा पाँच जना न्यायाधीशहरू उपस्थित भएनन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निकट मानिने पाँच जना न्यायाधीशहरू सोमवार बारका पदाधिकारीहरूसँग भएको छलफलमा अनुपस्थित भएका थिए ।
अवज्ञा आन्दोलन गरिरहेका कूल १८ जना न्यायाधीशहरू मध्ये १३ जना छलफलमा सहभागी भए पनि पाँच न्यायाधीशहरू अनुपस्थित भएका थिए ।
न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएका थिएनन् ।
बारले १३ जना न्यायाधीशहरूलाई भेटेर बारको आन्दोलनको बटमलाइन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा रहेको अडानबारे प्रस्ट पारेका थिए ।
'न्यायाधीश र प्रधानन्यायाधीशबीच सम्झौता भए पनि बारले नमान्ने, बारसहितको त्रिपक्षीय सम्झौता मात्र मान्य हुने भनेर आफ्नो अडान कायम रहेको भनेर सुनाएका थियौं,' नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरसँग भने, 'भोलि फेरि छलफल हुने तथा उक्त छलफलमा न्यायाधीशज्यूहरूले आफ्नो कुरा राख्नुहुनेछ ।'