
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि अहिलेको सरकारमा बलियो नै भएको अभिव्यक्ति दिएका छन् ।
महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन सरकारमा म बलियो नै छु । म प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको छु । त्यसकारण म सरकारमा बलियो नै छु ।’
प्रदेश २ मा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको लागि आफूले पहल गर्न सक्ने भन्दै उनले सरकारमा आफू बलियो नै भएको बताएका हुन् ।
रामगोपालपुर नजिकै ३३ बिघा जग्गा अलपत्र अवस्थामा रहेको र त्यसमा परियोजना बनाउनको लागि आफूले पहल गर्ने बताउँदै उनले सरकारमा बलियो उपस्थिति रहेकाले त्यो काम आफूले गर्न सक्ने बताएका हुन् ।
पहिले मणिपाल कलेजले स्वास्थ्य कलेज बनाउने भनेर ३३ बिघा जग्गा लिएको तर पछि पोखरामा गएको कारण जग्गा अलपत्र परेको थियो । त्यसमा कुनै इन्जिनियरिङ कलेज, स्वास्थ्य प्रतिष्ठान वा अन्य कुनै परियोजना ल्याउन पहल दाहालले बताए ।
अर्थ, ऊर्जा, भूमिसुधार, स्वास्थ्य र खेलकुद मन्त्रालय माओवादी केन्द्रको भागमा परेको हुनाले मधेशमा विकासका कार्यक्रम ल्याउन कुनै समस्या नहुने उनले बताए ।
सम्बोधनको क्रममा नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको विकासको लागि अवरोधक र खलनायक भएको आरोपसमेत प्रचण्डले लगाए ।
मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनको लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता गरेको तर एमालेले पारित हुन नदिएको भन्दै उनले केपी ओली मधेश विरोधी खलनायक भएको टिप्पणी गरे ।
‘संविधान संशोधन प्रस्ताव पारित हुन नदिने सबैभन्दा ठूलो खलनायक केपी ओली थिए,’ उनले भने ।
अझै पनि मधेशी जनताको पक्षमा संविधान संशोधनको लागि संघर्ष गरिरहने प्रचण्डले बताए । उनले भने, ‘संविधान संशोधनको लागि संसदमा मैले प्रधानमन्त्रीको हैसियतले दुई पटक दर्ता गरेको छु । त्यो पारित नभएसम्म म सिंहदरबारमा लडिरहन्छु । तपाईंहरु हेरिरहनुहोला ।’
नेपालमा राजनीति बिग्रिएको हुनाले धेरै कुरा बिग्रिएको र अहिले बिस्तारै राजनीति ट्रयाकमा आउन थालेको उनले बताए ।
रामगोपालपुर नजिकैको सौतनीया पोखरीको सौन्दर्यकरण गरेर पर्यटन क्षेत्रको विकास गर्न काठमाडौं फर्केर पहल गर्ने उनले बताए ।
त्यसबाहेक, मधेशको स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासको लागि काठमाडौं फर्कनसाथ सम्बन्धित मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।
‘मधेशमा स्वास्थ्य, शिक्षा, सिँचाइ र तटबन्ध सुविधाका लागि काठमाडौं फर्केर सम्बन्धित मन्त्रालयमा कुरा गर्छु,’ उनले भने ।