२३ जेठ २०८३, शनिबार

किसानलाई ५०% अनुदानमा आलुको बिउ वितरण गर्दै व्यास नगरपालिका

किसानलाई ५०% अनुदानमा आलुको बिउ वितरण गर्दै व्यास नगरपालिका

तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बिउ वितरण गर्ने भएको छ । 

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करीब ३३ टन आलुको बिउ वितरण गर्न लागेको हो । 

तीमध्ये किसानले गत वर्ष उत्पादन गरी चितवनको कोल्ड स्टोरमा भण्डारण गरी राखिएको करीब १७ टन आलुको बिउ तनहुँ ल्याएर वितरण गर्न लागिएको व्यास नगरपालिका कृषि शाखाका कृषिप्रसार अधिकृत कुशल नहर्कीले जानकारी दिए ।

‘चितवनको कोल्डस्टोरबाट आलुको बिउ ल्याएर किसानलाई वितरण गर्ने योजना बनाएको हौं,’ उनले भने, ‘अपुग करीब १६ टन आलुको बिउ त्रिवेणीबाट खरिद गरेर वितरण गर्ने योजना छ ।’  

नगरपालिकाले चितवनको कोल्ड स्टोरमा लैजानका लागि प्रतिबोरा ३५० गरी ६२९ बोराका लागि कूल २ लाख २० हजार १५० रुपैयाँ ढुवानी खर्च गरेको उनले बताए ।

उनले भने, ‘किसानलाई जनकदेव रातो र एमएस निलो उन्नत जातका आलुको बिउ वितरण गरिने छ ।’

व्यास नगरपालिका मातहत रहेका १४ वटै वडाका किसानको माग अनुरूप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई आलुको बिउ वितरण गरिने उनले बताए । गत वर्ष प्रथम श्रेणीको वितरण गरिएकोमा आउँदो वर्ष स्थानीय जातको आलुको बिउ उत्पादन गर्ने लक्ष्य राखिएको शाखाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्