११ साउन २०८३, सोमबार

अख्तियार, कानून र अदालतले ठूला आयोजनाहरू नरोकिऊन् : अर्थमन्त्री शर्मा

अख्तियार, कानून र अदालतले ठूला आयोजनाहरू नरोकिऊन् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावट विना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

मन्त्रालयमा बिहीवार आयोजित विकास निर्माण सहजीकरण कानूनसम्बन्धी छलफलमा उनले झन्झटिलो कानून र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरे । ‘अख्तियार, कानून तथा अदालत लगायतले ठूला आयोजनाहरू नरोकिऊन्, सरल र रोकावट विना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ,’ उनले भने ।

उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानून तर्जुमा गर्नुपर्ने बताए । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको उनको भनाइ छ ।

कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको जनाउँदै अर्थमन्त्री शर्माले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्ने धारणा राखे ।

उनले कानून निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानून पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको उल्लेख गर्दै सुक्ष्म अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने बताए ।

बैठक मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागितामा भएको थियो । बैठकमा वर्तमान खरिद कानून, पूँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासन लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्