२९ असार २०८३, सोमबार

भरतमोहन प्रतिष्ठानले शुरू गर्‍यो ज्येष्ठ नागरिक शैक्षिक कार्यक्रम

भरतमोहन प्रतिष्ठानले शुरू गर्‍यो ज्येष्ठ नागरिक शैक्षिक कार्यक्रम

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धा लक्षित शैक्षिक अभियान शुरू गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच अभियानको मंगलवार शुभारम्भ गरे ।

निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा समस्यामा परेका वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले अभियान थालिएको भरतमोहन पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

ज्येष्ठ नागरिकलाई राज्य, परिवार र समाजले सम्मान गर्नुपर्छ भन्ने भरतमोहनको मान्यतालाई आफूहरूले आत्मसात गरेर अघि बढेको उनले बताइन् ।
 
पहिलो चरणमा ललितपुरको बुङमतिस्थित शान्ति आश्रम दिवा सेवा केन्द्रमा बुधवारदेखि कक्षा सञ्चालन शुरू हुने उनले बताइन् । उनका अनुसार शनिवारबाहेक हप्तामा ६ दिन सञ्चालन हुने कक्षामा बुङमतिका ६० वर्ष उमेर नाघेका ४० निरक्षर वृद्धवृद्धा  सहभागी हुनेछन् ।

कक्षामा सहभागी हुनेहरूलाई कार्यक्रममै शैक्षिक सामग्री, पोशाक तथा झोला उपलब्ध गराइएको थियो । फाउन्डेसनले केही दिनभित्रै सबैलाई १–१ वटा टेलिफोन सेट समेत उपलब्ध गराउने तयारी गरेको अधिकारीले बताइन् । १ वर्षसम्म सञ्चालन हुने कक्षाबाट साधारण लेखपढ गर्न, आर्थिक हिसाब गर्न, मोबाइल तथा टेलिफोन, कम्प्युटर, इन्डक्सन चुल्होजस्ता विद्युतीय उपकरण प्रयोग गर्न, सडकमा राखिएका ट्राफिक संकेत बुझ्न तथा होडिङ बोर्ड पढ्न सक्ने बनाउने लक्ष्य राखिएको छ ।

प्रतिष्ठानका अनुसार अध्यापनका लागि नेपाली र स्थानीय भाषा (नेवारी) मा दख्खल भएका स्नातकोत्तरसम्म अध्ययन गरेका प्रमुख शिक्षक र स्नातक अध्ययन गरेका १ गरी २ शिक्षक व्यवस्था गरिएको छ । उनीहरूलाई दक्ष बनाउन केही महिना विशेष तालिम समेत दिइएको छ । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पाठ्यक्रम तयार गरिएको भरतमोहन पुत्री लीमाले बताइन् । ७ वटै प्रदेश र क्रमशः मुलुकका ७७ वटै जिल्लामा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने योजना प्रतिष्ठानको छ । १ महिनापछि १ नम्बर प्रदेशको विराटनगरमा कार्यक्रम शुरू हुँदैछ ।

‘निरक्षरताका कारण प्रविधिमा अभ्यस्त नहुँदा कष्टकर अवस्थामा रहेका वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले प्रतिष्ठानले यो अभियान थालेको हो’, अधिकारीले भनिन्, ‘हामी क्रमशः यसलाई ७ वटै प्रदेश र जिल्लास्तरसम्म पनि विस्तार गर्ने सोचमा छौं ।’ 

शैक्षिक कार्यक्रमअन्तर्गत प्रयोगात्मक सिकाइका लागि वृद्धवृद्धालाई भ्रमण गराउने योजनासमेत राखिएको छ । सिकाइको स्तर मापनका लागि हरेक महिना आंशिक र १२औं महिनामा अन्तिम परीक्षा हुनेछ । शैक्षिक कार्यक्रमका लागि सहकार्य गरेको ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा विदेशमा रहेका छोराछोरीसँग कुरा गर्न नसक्ने वृद्धवृद्धालाई लक्षित गरी कार्यक्रम थालिएको बताए ।

२०५१ सालमा एमालेको ९ महिने अल्पमत सरकारको बजेटमा समेटेका जनपक्षीय कार्यक्रमका कारण स्वर्गीय भरतमोहन अहिले पनि लोकप्रिय छन् । उनले ज्येष्ठ नागरिकका लागि महिनामा १०० रुपैयाँ भत्ता उपलब्ध गराउने कार्यक्रम ल्याएका थिए । रकम बढेर हाल मासिक ४ हजार रुपैयाँ पुगेको छ । अधिकारीले महिलाका नाममा घरजग्गाको रजिस्ट्रेसन पास गर्दा लाग्ने शुल्कमा छुट दिने, ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत स्थानीय तहमा रकम पठाउने, गाउँगाउँमा सहकारी, घरघरमा भकारी जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । 

शैक्षिक कार्यक्रम उद्घाटनका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र भरतमोहन अधिकारी स्मृति फाउन्डेसनकी अध्यक्ष सविता अधिकारीले भरतमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गरेका थिए ।

मुख्यमन्त्री पाण्डे र महानगर प्रमुख महर्जनले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भरतमोहनको अभियानलाई प्रतिष्ठानले निरन्तरता दिएकामा प्रशंसा गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्