१० साउन २०८३, आइतबार
एमाले महाधिवेशन

सौराहामा एमाले बन्दसत्रको दिनभर : ओलीको दुई घण्टाको भाषणदेखि रावल–ओलीको जुहारीसम्म

सौराहामा एमाले बन्दसत्रको दिनभर : ओलीको दुई घण्टाको भाषणदेखि रावल–ओलीको जुहारीसम्म

एमालेको विधान महाधिवेशनको बन्दसत्र विहान १० बजे बोलाइएको थियो । तर, साढे पाँच घण्टा ढिलो गरेर करिब साढे तीन बजे ओली बन्दसत्रको हलमा प्रवेश गरेका थिए ।

हुन त उनी सौराहको जङ्गल सफारी रिसोर्टबाट होटल सेभेनस्टार विहान साढे ११ बजे नै आएका थिए । एमालेको बन्दसत्रका लागि होटल सभेनस्टार परिसरसँगै जोडिएको स्थानमा टेण्टको हल तयार गरिएको छ ।

ओली बन्दसत्रको हलमा नगइ होटल सेभेनस्टारको स्वीट रुमतिर लागे । जहाँ उनले करिब साढे चार घण्टा विताए । त्यसक्रममा उनले एमालेका वरिष्ठ नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरूसँग छलफल गरेका थिए । 

मध्यान्न १२ बजेबाट महाधिवेशन प्रतिनिधिलाई हलमा प्रवेश गराउन थालिएको थियो । प्रतिनिधिका लागि विहानको खाना होटल सेभेन स्टारले नै प्रबन्ध गरेको थियो । परिचयपत्रको क्यूआरकोड स्क्यान गरेर प्रवेश गराइएको प्रतिधिलाई भित्रि गेटमा खानाको कुपन बाडियो । प्रतिनिधिले खाना खान करिब दुई घण्टा लगाए । 

हलमा प्रवेश गरेका प्रतिनिधिलाई बाहिर निकालेर पुरै हल खाली गराइयो । हलमा असम्बन्धित मान्छे प्रवेश गरेको, प्रतिनिधिलाई झोला र अन्य सामग्री दिन बाँकी रहेको भन्दै बाहिर निकालियो र पुन लाइन लगाएर स्क्रिनिङ गरेर बन्दसत्रको हलमा प्रवेश गराइयो । यतिन्जेल ओली होटल सेभेनस्टारको स्वीटमा नै थिए । 

दिउँसो पौने तीन बजे ओली होटलबाट बन्दसत्रको हलमा गए । बल्ल बन्दसत्रको कार्यक्रम प्रारम्भ भयो । बन्दसत्रको शुरूमा एमालेले आमन्त्रण गरेको विदेशी पाहुनालाई बोल्न दिइयो । विदेशका केही राजनीतिक दलले पठाएको सन्देश पढेर सुनाइयो । 

त्यसपछि ओलीले बन्दसत्रलाई सम्बोधन शुरू गरे । करीब दुई घण्टा लामो भाषण गरेका ओलीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखिको इतिहास उत्खनन गर्न भ्याएका थिए । त्यसमा पनि एमालेको स्थापना, संघर्ष, कमजोरी र उपलब्धी ओलीका भाषणका मुख्य विषय थिए । 

बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले भावनात्मक कुरा गर्न भ्याए । आफ्नो कमजोर स्वास्थ्य र जीवनको भविष्यको कुरा गरे । 

उनले भने, ‘म कति बाँच्छु थाहा छैन, धेरै अप्रेशनबाट गुज्रिएको छु । मानिसहरूको जिन्दगी त टुंगो हुँदैन, म त मरेर बाँचेर आएको हुँ । जब म तपाईंहरूलाई मेरो अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु, आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’

पार्टी पंक्तिलाई देख्दा आफूलाई आनन्दले निन्द्रा लाग्ने, टन्न खाना रुच्ने र आनन्द लाग्ने गरेको बताए । एमालेमा तेजतर्रार नेता र कार्यकर्ताको पंक्ति रहेकोले आन्दोलन र देशको भविष्य सुरक्षित रहेको ओलीको भनाई थियो । कार्यकर्ताले आफूलाई विश्वास गरेरै कारण एमालेको अध्यक्ष बन्न पाएकोले आफूलाई गौरवान्वित ठानेको ओलीले बताए ।

त्यतिमात्रै होइन, ओलीले आफ्नो नेतृत्वको सरकार सेटिङ गरेर परमादेशको भरमा हटाएको पनि बताउन भ्याए । उनले भने, ‘प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री बनेको संसद्लाई थाहा छैन,’ उनले भने, ‘परमादेशको नाममा दुनियाँमा कतै नभएको कुरा नेपालमा भयो ।’

आफू नेतृत्वको सरकारलाई अलोकतान्त्रिक, असंवैधानिक ढंगले हटाइएको दोहोर्‍याए ओलीको दावी थियो ।

‘जनताको समर्थनबाट हामी हटेका होइनौं, षडयन्त्रका कारण असंवैधानिक ढंगले हटाइयो,’ उनले भने, ‘राजनीतिमा संलग्न गराउन नहुने शक्तिहरू हाम्राविरुद्ध संलग्न गराइयो’, ओलीले भने । 

बन्दसत्रमा सहभागी प्रतिनिधिलाई भने, ‘गठबन्धनको पर्वाह नगर्नुस्, एमालेसँग एक्लै चुनावमा जाने सामर्थ्य छ, छैन भने बनाउनुपर्छ । देशभक्त शक्ति एकातिर, देशद्रोही अर्कोतिर । यी अझै फुटे धेरै शक्ति हुन्छन्, के फरक पर्छ ।’ 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ओलीले भने, ‘हाम्रो पार्टी दुईतिहाइ नजिक पुग्यो तर अगाभीलाई खानेबेला रिस उठ्छ भनेझैं केही अभागीलाई रिस उठ्यो । रिस उठेर भूइँमा पछारे, ल खा भनेर । चैतमा पार्टी महाधिवेशन हुँदै थियो, म नेतृत्व गर्न इच्छुक छैन, गर्नुस् भन्याथेँ । चैतमा महाधिवेशन पर्खन नसकेर पुसमै पार्टी फुटाइयो ।’

ओलीले भाषण गर्दा बन्दसत्र हलको एक कुनामा केही हल्ला भयो तर ओलीले भाषण रोकेरै उनीहरूलाई हल्ला नगर्न र स्वयं सेवकलाई हल्ला नियन्त्रण गर्न निर्देशन दिए । बन्दसत्रमा सहभागी भएका प्रतिनिधिले आफ्नो भाषण मन्त्रमुग्ध भएर सुनुन् भन्ने ओलीले चाहेको देखियो । 

दुई घण्टाको भाषणमा ओलीले प्रतिनिधिलाई आफ्नो प्रभाव छाड्ने प्रयास गरे । कतिपय ठाउँमा उनीहरूको प्रशंसा गरे । सहमतीय प्रणालीबाटै नेतृत्व चयन गर्नुपर्ने ओलीको सन्देश थियो । 

ओलीको लामो भाषण चलिरहँदा एमाले उपाध्यक्ष भीम रावल भने म्यासेज र सोसल मिडियामार्फत प्रतिनिधिसँग भोट माग्न व्यस्त थिए । उनी पुरै समय बन्दसत्रको हलमै बसे तर, आफ्नो चुनावी प्रचारमा केन्द्रित रहे । 

ओलीले भाषण गरिरहँदा अरु नेताहरू पनि मोबाइलमा घोत्लिरहेका देखिन्थे । 

ओलीको लामो भाषण सकिएपछि बन्दसत्रको मुख्य कार्यक्रम शुरू भयो । 

महासचिव ईश्वर पोखरेलले बन्दसत्रको अध्यक्षमण्डलको नाम प्रस्ताव गरे । जुन, एमालेको यसअघिको अन्तिम स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले पारित गरेको थियो । अध्यक्ष मण्डलको अध्यक्षमा केपी ओली रहे भने सदस्यहरूमा युवराज ज्ञवाली, भीम रावल, ईश्वर पोखेरल, विष्णु पौडेल लगायतका नेताहरू रहे । 

बन्दसत्रको माइन्यूट कमिटीको संयोजक पृथ्वी सुब्बा गुरुङलाई बनाइयो । 

त्यसलगत्तै, संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।  

उनले गरेको प्रस्तावमा उपाध्यक्षको संख्या बढाएर ६ पुर्याउन प्रस्ताव गरिएको छ । यस्तै उपमहासचिवको संख्या ३ बनाउन प्रस्ताव गरिएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले एक वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष तथा उपमहासचिव एकजना मात्र राख्ने प्रस्ताव गरेको थियो । 

शुक्रवार मध्यरातमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले सहमतिको प्रयासका लागि भन्दै केन्द्रीय कमिटी सदस्यको संख्या बढाउन प्रस्ताव लैजाने निर्णय गरेको थियो । 

विधान संशोधन प्रस्तावमा ४५ सदस्यीय स्थायी कमिटी सदस्य र ९९ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव गरिएको छ । पौडेलको प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो । 

त्यसपछि, बन्दसत्र सञ्चालक ईश्वर पोखरेलले सर्वसहमतिमा नेतृत्व चयन गर्नका लागि केही प्रस्ताव प्रस्तुत गर्न विष्णु पौडेललाई समय दिए ।

उनले केही भूमिका बाँधेर एमालेको केन्द्रीय निकाय र केन्द्रीय कमिटीको उम्मेदवार प्रस्ताव गर्ने अधिकारले हलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिने प्रस्ताव गरे । उनको प्रस्तावमा हलमा ठूलो आवाजले समर्थन गर्यो । 

तर, एमालेका उपाध्यक्ष भीम रावलले भने असन्तुष्टि राखे । 

‘नेतृत्व छान्ने जिम्मा एक व्यक्तिलाई दिने निर्णय विधानको व्यबस्था विपरित छ, सजिलो परेको बेलामा विधि र विधानको विपरित व्यबस्था गर्दा भविष्यमा त्यही विषय विष बन्न जान्छ । विधानमा राष्टिय महाधिवेशनमा निर्वाचन गर्ने व्यबस्था गरिएको छ । केही व्यक्तिलाई यस्तो अधिकार दिन मिल्दैन कि कि कहिलै चुनावै नगर्ने भनौं,’ रावलले भने ।

अध्यक्षले उम्मेदवार प्रस्ताव गर्ने विधिमा सहमती नरहेको र आफ्नो उम्मेदवारी कामय रहने रावलले बताएका थिए । 

बन्दसत्र स्थगित गर्नुअघि ओलीले छोटो मन्तव्य राखे । उनले भने, ‘रावलजीले उम्मेदवारी नै दर्ता गर्नु भएको छैन । के फिर्ता लिनु ? चुनाव लड्छु भन्नुभएको छ । कसैले उम्मेदवारी दिएन भने कसरी लड्नुहुन्छ ? सहमतिको प्रयास गर्छौँ भनेको हो । नेतृत्व चयन गर्दा निर्वाचित हुने सर्वसम्मति र प्रतिस्पर्धाको विधी हुन्छ । जो चुनाव लड्छु भन्छ उसले के का लागि चुनाव लड्ने भन्ने विचार गर्नुपर्छ ।’ 

ओलीले रावललाई भने, ‘प्रतिष्पर्धा गर्ने कसैको अधिकार खोसिँदैन, विधान मिचिँदैन । हामी लोकतान्त्रिक अभ्यास गर्ने हो । कसैमाथि थिचोमिचो हुँदैन ।’

अध्यक्ष ओलीले रावललाई जवाफ दिदै, सहमतीमा नेतृत्व चयन गर्दा विधान नमिचिने र अधिकार नखोसिने बताए । 

यो जवाफ पछि ओलीले मंसिर १२ गते विहान १० बजेसम्मका लागि एमालेको बन्दसत्र स्थगित गरेका छन् । 

 


salt training

कमेन्ट गर्नुहोस्