काठमाडौं, ११ असार— सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उद्धार कार्यमा उत्कृट कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतलाई आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा एक कार्यक्रमका बीच पुरस्कृत गरेका छन् ।

त्यसअवसरमा उनले सशस्त्र प्रहरी नायव निरीक्षक कठायतलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी नायव निरीक्षक कठायतले आफू ड्युटीमा रहेको ठाउँ नजिकैको घरको छतबाट अचानक खसेको बच्चालाई विवेकयुक्त क्षमता प्रयोग गरी भुइँमा खस्न नपाउँदै समातेर बचाउन सफल भएको स्मरण गर्दै उद्धार कार्यको प्रशंसा गरे ।
पुरस्कृत भएका निज सशस्त्र प्रहरी नायव निरीक्षक कठायतले गत जेठ ३० गते बाँके जिल्लाको नेपालगञ्ज १२ स्थित विपिचोकमा दुई तले घरको छतबाट खसेकी नफिज करिवालकी तीन वर्षिया छोरी जयनतालाई जमिनमा खस्न नदिइ समातेर उद्धार गरेका थिए ।
त्यस दिन अपरान्ह करीव सवा चार बजे त्यही ठाँउमा एपीएफ टोली ड्युटीमा रहेको तथा एपीएफ टोली रहेकै छेउको घरको छतबाट ती बालिका अचानक खसेकी थिइन् ।