
४ दिनअघि अर्घाखाँचीमा कांग्रेस सभापति चयन गर्न भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केशव श्रेष्ठ भारी मतका साथ निर्वाचित भए । संस्थापन पक्षले उम्मेदवार बनाएका यादवप्रसाद घिमिरे श्रेष्ठको निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेनन् ।
कुनै पनि नेताले समर्थन नगरेका पौडेल पक्षीय इन्द्रमणि पौडेलले मत ३५२ मत ल्याउँदा घिमिरेले ३०९ मत मात्र ल्याउन सके । श्रेष्ठ ७३१ मतका साथ विजयी भए ।
अर्घाखाँची कांग्रेसलाई सधैं आफ्नो कब्जामा जस्तै ठान्ने कांग्रेस संस्थापन पक्ष जिल्लामा तेस्रो स्थानमा खुम्चिँदा देउवा पक्षीय प्रभावशाली नेताद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मा झस्किए ।
कांग्रेस अर्घाखाँचीको प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ मा राजेश पन्थी र क्षेत्र नम्बर २ मा हेमन्त बेल्वासे विजयी भए । उनीहरू दुवै जना पौडेल पक्षीय नेता हुन् ।
अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि २६ जना चयन हुँदा देउवा पक्षका जम्मा ६ जना र बाँकी २० जना पौडेल पक्षबाट निर्वाचित भए । यसले अर्घाखाँची कांग्रेसलाई पौडेल पक्षले कब्जामा लिएको देखिन्छ ।
रूपन्देही कांग्रेसको जिल्ला सभापतिमा संस्थापन पक्षका रामकृष्ण खाँण चयन भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णलाई सभापति बनाउन गृहमन्त्री खाँण ३ दिनभन्दा बढी अड्डा जमाएरै जिल्लामा बसे । क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा दुवै समूह बराबर जस्तै देखिएको छ ।
क्षेत्र नम्बर १, ३ र ५ को प्रतिनिधिसभा क्षेत्रीय सभापति देउवा पक्षीय चुनिएका छन् भने क्षेत्र नम्बर २ र ४ मा पौडेल पक्षका सभापति निर्वाचित भए । प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्रमशः हिराबहादुर खत्री, हरि लम्साल, सुशील गुरूङ, मुकेव यादव र वसिउल्ला मुसलवान निर्वाचित भएका छन् ।
जिल्लाका देउवा पक्षीय प्रभावशाली नेता युवराज गिरी र नेविसंघका उपसभापति मुक्ति पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित हुन पुगे । गिरी एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धा गरेका नेता हुन् । जिल्लाबाट १२५ महाधिवेशन प्रतिनिधिमा ५०/५० जस्तै दुवै पक्षका छन् । यसले जिल्लामा बलियो बनिएको पौडेल पक्षको आकलन छ ।
पश्चिम नवलपरासीमा पनि देउवा पक्षलाई ठूलो धक्का लागेको छ । जिल्ला सभापतिमा संस्थापनइतरका अर्जुनप्रसाद पोखरेल निर्वाचित भए । नलपरासीमा संस्थापन पक्ष मानिने पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले अगाडि सारेका मोहनप्रसाद शर्मालाई पोखरेलले १९५ मतान्तरले पराजित गरेका हुन् । विजयी पोखरेलले ७५६ मत ल्याए भने प्रतिस्पर्धी शर्माले ५६१ मत ल्याए । निर्वाचित पोखरेल यसअघिका जिल्ला उपसभापति हुन् ।
यता प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा मुकुल आचार्य र २ को सभापतिमा माधवप्रसाद पाण्डे निर्वाचित भएका छन् । पाण्डे देउवा र आचार्य पौडेल पक्षका नेता हुन् । प्रदेश सभाका ४ वटा क्षेत्रमध्ये एउटामा मात्र देउवा पक्षका सभापति चयन भएका छन् भने बाँकी सबै पौडेल पक्षीय निर्वाचित भएका छन् ।
जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटमा समेत देउवा पक्ष कमजोर देखिएको छ । संस्थापनइतर पक्षले बुहमत प्रतिनिधि जितेको छ । केन्द्रीय समिति चयनका लागि जिल्लाबाट निर्वाचितसहित कूल ५३ प्रतिनिधि सहभागी हुने भएका छन् । जसमा २९ जना संस्थापनइतर पक्षका छन् भने २४ जना देउवा पक्षका छन् ।
पाल्पामा पौडेल पक्षले देउवा पक्षलाई ‘क्लीन स्वीप’ पारेको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, प्रतिनिधि सभाका क्षेत्रीय सभापति मुक्तिराम जिसी र झमनराज मगर सबै पौडेल पक्षीय हुन् । प्रदेश सभाका ४ जना नै सभापति पौडेल पक्षले जितेका छन् । महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षले दुईतिहाइ जितेको छ । ५० महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षका ४४ जना छन् ।
प्यूठानको जिल्ला सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् । गौमुख गाउँपालिकाका अध्यक्ष समेत रहेका गिरी संस्थापक पक्षका शिव रिजाललाई ७२ मतले पछाडि पार्दै नेतृत्वमा उदाएका हुन् ।
दाङको क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । उनी देउवा निकट हुन् । क्षेत्र नम्बर २ मा भीमप्रसाद खड्का निर्वाचित भएका छन् । उनी पनि देउवा निकट हुन् । क्षेत्र नम्बर ३ मा पौडेल पक्षीय जगतबहादुर खड्का निर्वाचित भएका छन् ।
दाङ जिल्ला सभापतिका लागि आइतवार निर्वाचन भइरहेको छ । शनिवार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतवार पुनः मतदान हुन लागेको हो । शंकर डाँगी र भुपबहादुर डाँगीबीच प्रतिस्पर्धा हुँदैछ । शंकर पौडेल निकट हु्न । दाङमा संस्थापन पक्ष बलियो मानिन्छ । ४ प्रतिस्पर्धीमध्ये ३ जना संस्थापन पक्षधर उम्मेदवार बनेका थिए ।
लुम्बिनीकै बर्दियाको क्षेत्र नम्बर १ मा मुक्तिनाथ यादव र क्षेत्र नम्बर २ मा दिपकजंग शाह निर्वाचित भएका छन् । यादव र शाह दुवै जना संस्थापन पक्षका हुन् । यसैगरी वर्तमान पार्टी सभापति पौडेल पक्षका सञ्जयकुमार गौतमले महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी ४२२ मत प्राप्त गरी विजयी भएका छन् ।
गुल्मीमा पौडेल प्यानल बलियो देखिएको छ । क्षेत्र नम्बर १ र २ को क्षेत्रीय सभापतिमा क्रमशः पारेश्वर ढकाल र चन्द्रबहादुर महत निर्वाचित भएका छन् । उनीहरू दुवै जना पौडेल निकट नेता हुन् । ढकाल सत्यवती गाउँपालिकाका अध्यक्ष समेत हुन् । प्रदेशसभा क्षेत्रतर्फ ४ जना सभापतिमध्ये पौडेल पक्षका ३ जना निर्वाचित भएका छन् ।
शनिवार भएको जिल्ला सभापतिमा मतपेटिकमा नाम भेटिएको भन्दै मतगणना स्थगित भएको छ । सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी र देउवा निकट बेद थापाबीच प्रतिस्पर्धा भइरहेको छ । थापा पक्षले अहिले पुनः मतदानको माग गरेको छ । जिल्लामा पन्थी निर्वाचित हुने बलियो सम्भावना रहेको विश्लेषण गरिन्छ ।
कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका मगर निर्वाचित भएका छन् । रोका पनि पौडेल पक्षीय नेता हुन् । रोल्पा कांग्रेसको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन् । आचार्य पनि पौडेल निकट हुन् । प्रदेश सभातर्फ १ मा दुर्गाबहादुर खड्का र गोपाल घर्ती मगर निर्वाचित भएका छन् । कपिलवस्तु, बाँके र बर्दियामा सभापतिको निर्वाचन भएको छैन ।