
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा रहेको बताएका छन् ।
आइतवार काठमाडौंमा आफूद्वारा लिखित हातेपुस्तक ‘कांग्रेसको अबको बाटो (रुपान्तरणका १० सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा रहेको औंल्याए ।
कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफू अनुकूल गरिरहेको भन्दै उनले आन्तरिक लोकतन्त्रको लागि खतरा महसूस गरेको बताए ।
उनले भने, ‘निर्वाचनको क्रममा जे हामीले भोग्यौं । निर्वाचनहरू सम्पन्न हुँदा प्रशासन, प्रहरीको जसरी कहीँ बल प्रयोग, कहीँ छल प्रयोग, कहीँ सल प्रयोग । सल, बल, छल । त्यसैले सत्ताको प्रयोग भइरहेको छ । यो पनि पार्टीभित्र आन्तरिक डेमोक्रेसीका लागि, आन्तरिक लोकतन्त्रका लागि एउटा गम्भीर खतरा बनिरहेको महसूस भइरहेको छ ।’
वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरूलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उनले राजनीतिक दलहरूलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताए ।
दलको सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरिने अवस्था रहनु चिन्ताको विषय भएको उनको भनाई छ । उनले भने, ‘अति दलबन्दीबाट निमुखा जनताको न्याय मरेको छ । निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको छ । दलको सदस्य भएपछि उसलाई विशेष सहुलियत, उसलाई विशेष पहुँच, जो दलको सदस्य छैन दलभित्र पनि गुटको, जो मुख्य सत्ताको केन्द्रमा छ उसको नजिक हुनेको बाहेक अरुको अधिकार, निमुखा जनताको अधिकार त्यहीभित्र पनि अधिकार कुण्ठित भइरहेको अवस्था छ । अति दलबन्दीबाट निमुखा जनता अहिले पिसिएको अवस्था छ । यो पनि एउटा चिन्ताको विषय भएको हुनाले दलहरुलाई नै लोकतान्त्रिकरण गरेर, दलहरूलाई नै जनताको साँच्चिकै पक्षमा काम गर्ने संस्थाको रुपमा विकास गरेर त्यहीभित्र लोकतन्त्र साकार भएर, दलभित्रै आन्तरिक लोकतन्त्र साकार गरेर, सारा जनताको अधिकारको रक्षा दलहरुलाई बनाउनुपर्ने आवश्यकता छ । निमुखा जनताको अधिकारको पहरेदार दलहरुलाई बनाउनका लागि आन्तरिक लोकतन्त्र आवश्यक छ । दलहरूभित्रै आन्तरिक लोकतन्त्रको लडाइँ लड्न जरुरी मैले देखेको छु ।’
वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असिमित महत्त्वाकांक्षाले लोकतन्त्रमाथि नै संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृतिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिए ।