
नेकपा एमालेको दशौं महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित हुने आकांक्षा पालेका दर्जनभन्दा बढी अनुहार केन्द्रीय सदस्यमै चित्त बुझाउनुपर्ने भएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बिहान साढे ३ बजे सहमतिको लागि भन्दै १९ जना पदाधिकारीको सूची सार्वजनिक गरेका थिए ।
ओलीले पदाधिकारीमा ल्याउने आश्वासन दिएका केही अनुहारहरू केन्द्रीय समितिमा सीमित भएका छन् । ओली निकट मानिने महेश बस्नेतले सचिव पदमा पहिलो उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी घोषणा नगरे पनि अर्का नेता गोकुल बाँस्कोटा पनि सचिवको दाबेदार थिए ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई तथा प्रदेश १ कै भानुभक्त ढकालले सचिवका लागि आकांक्षा देखाएका थिए । यस्तै लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । उनीहरू पदाधिकारीमा समेटिएनन् ।
पदाधिकारीमा समेटिन नसकेका नेतालाई स्थायी कमिटी र पोलिटब्युरोमा समेट्ने ओलीले आश्वासन दिएका छन् ।
प्रदेश २ बाट रघुवीर महासेठ सचिव बने पनि माओवादी परित्याग गरेर आएका प्रभु साह पदाधिकारीमा अटाएनन् । प्रदेश ३ बाट शेरबहादुर तामाङले पदाधिकारीमा दाबी गरेका थिए । शेरबहादुरका दम्पती केन्द्रीय समितिमा आए पनि पदाधिकारी बन्न पाएनन् ।
गण्डकीबाट खगराज अधिकारीले सचिवमा दाबी गरेका थिए उनी पनि केन्द्रीय समितिमै सीमित रहेका छन् । महिलातर्फ बिन्दा पाण्डेले उपमहासचिवमा उम्मेदवारी दिने बताएकी थिइन्, उनी केन्द्रीय सदस्यमै सीमित रहेकी छन् ।
राधा ज्ञवाली, डा. शिवमाया तुम्बाहाम्फे, सीता पौडेल लगायतले पनि पदाधिकारीमा आकांक्षा गरेकोमा उनीहरू समेटिएनन् । कर्णाली प्रदेशबाट यामलाल कँडेल तथा सुदूरपश्चिमबाट कर्णबहादुर थापाले पनि पदाधिकारीमा आकांक्षा व्यक्ति गरे पनि उनीहरू समेटिएनन् ।
यसअघि नवौँ महाधिवेशनबाट सचिव निर्वाचित भएका भीम आचार्य पदाधिकारीमा अटाएनन् । उनले सचिवमा उम्मेदवारी दिएका छन् ।