बलिउडका महानायक अमिताभ बच्चनले कुनै बेलामा अभिनेत्री करीना कपूरको गोडा धोएका थिए भन्दा पत्यानुहुन्छ ?
यो आजभन्दा ४० वर्षअघिको कुरा हो । त्यतिखेर करीना बच्ची थिइन् । उनलाई अमिताभ खराब मान्छे हुन् भन्ने लागेको थियो ।
किन ? किनकि उनले आफ्ना पिता रणधीर कपूरलाई अमिताभले पिटेको देखेकी थिइन् ।
सन् १९८३ मा आएको फिल्म पुकारमा द्वन्द्वको एक दृश्यमा अमिताभले करीनालाई पिटेका थिए ।
बच्ची करीनाले वास्तविकता बुझ्न सकिनन् र अमिताभ खराब मान्छे हुन् भन्ने छाप उनलाई परेको थियो ।
त्यसपछि अमिताभले उनको गोडा धोएर उनलाई विश्वस्त तुल्याउन खोजेका थिए ।
घटनाको स्मरण गर्दै अमिताभले ब्लगमा लेखे, ‘करीना पुकारको सेटमा टोपी लगाएर आएकी थिइन् । त्यस टोपीमा साना गुलाफी फूलहरू थिए । द्वन्द्वको एक दृश्यमा मैले उनको पितालाई पिट्दा उनी सेटमा आएर बुवालाई अँगाल्न थालिन् । बुवालाई पिट्ने खराब मानिसबाट उनी जोगाउन चाहन्थिन् ।’
‘उनको आँखाभरि आँसु थियो र उनी निकै चिन्तित थिइन् । उनले गोवाको बालुवामा गोडा फोहर पारेकी थिइन् । उनलाई शान्त गराउन मैले अलिकति पानी मगाएँ र उनका गोडा सफा गरें । मैले फिल्मका लागि बुवालाई कुटेको हो, वास्तवमा हैन भन्ने कुरा बुझाउनका लागि मैले यो सब गरेको थिएँ । गोडा धोएपछि मेरो बारेमा उनको सोच बदलिएको हुनुपर्छ । उनी अझै पनि त्यो क्षण सम्झिन्छिन्,’ अमिताभले लेखे ।