२१ जेठ २०८३, बिहीबार

कांग्रेसको प्रदेश अधिवेशन : संस्थापनमा उम्मेदवारको खडेरी, इतरलाई व्यवस्थापन गर्न मुस्किल !

मंसिर १३, २०७८
कांग्रेसको प्रदेश अधिवेशन : संस्थापनमा उम्मेदवारको खडेरी, इतरलाई व्यवस्थापन गर्न मुस्किल !

नेपाली कांग्रेस पहिलोपटक संघीय संरचनामा जाँदैछ । १४औं राष्ट्रिय महाधिवेशनबाट कांग्रेस प्रादेशिक संरचनामा जान लागेको छ ।

पहिलोपटक हुन लागेको नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्यसमितिको निर्वाचनमा केही नेताहरूको दौडधूप चलिरहेको छ । पहिलोपटक प्रदेश कार्यसमितिको सभापति बन्न धेरै नेताहरू आकांक्षी देखिए पनि संस्थापन पक्षका नेता भने ‘हेर र पर्ख’ रणनीतिमा छन् । 

१ नम्बर प्रदेशमा संस्थापनइतर पक्षको राम्रो प्रभाव देखिएको छ । संस्थापनइतर पक्षबाट उम्मेदवारको धमाधम घोषणा भए पनि संस्थापन पक्षलाई उम्मेदवार पाउन नै हम्मेहम्मे परेको छ । केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुनसरीका सभापति तथा नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । 

संस्थापन पक्षमा केही नेताको नाम चर्चामा आए पनि उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल, पाँचथरका भीष्मराज आङ्दम्बे, ओखलढुंगाका रामहरि खतिवडाको नाम चर्चामा छ । तीनै जना नेताहरूले अहिले नै  निर्णयमा पुगी नसकेको बताएका छन् । 

केन्द्रीय सदस्य अर्यालले प्रदेशमा उठ्ने कि केन्द्रमा उठ्ने भन्नेबारे निर्णय भई नसकेको बताए । सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खतिवडालाई सभापतिको उम्मेदवार बन्न निर्देशन दिइसकेकाले खतिवडा नै प्रदेशको उम्मेदवार हुनसक्ने देउवानिकट एक नेताले बताए ।

खतिवडाले पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिमा उठ्न भने पनि निर्णयमा पुगी नसकेको बताए ।

१ नम्बर प्रदेशमा कमजोर महसूस गरेको देउवा पक्षले कृष्णप्रसाद सिटौलाको साथ खोजेका छ । ‘अहिलेसम्म भएका मतपरिणामहरू हेर्दा हामी कमजोर देखिएका छौं,’ संस्थापन पक्षका एक नेताले भने, ‘प्रभाव पार्ने खालका उम्मेदवार पनि खोजी गरिरहेका छौं ।’

नेता कृष्णप्रसाद सिटौला पक्षका तारामान गुरुङलाई सभापति बनाउन समेत संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

कोइराला पक्षका २ नेताले पनि सभापतिको समर्थन पाउनका लागि  विभिन्न कसरत गरिरहेका छन् । डा. शेखर कोइराला कसलाई सभापतिको उम्मेदवार बनाउने भन्नेमा अन्योलमा छन् । अन्त्यमा राजीवलाई प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएर मनाउने र गुरुलाई उम्मेदवार बनाउने कसरत समेत शुरू भएको एक नेताले बताए । 

अधिवेशनको उद्घाटनसत्र विराटनगरको शंकरपुरस्थित खाली मैदानमा र बन्दसत्र जहदा रोडस्थित सिद्धी पार्टी प्यालेसमा हुने जनाइएको छ । उद्घाटन सत्रमा १ हजार ७०० प्रतिनिधिसहित २ हजार बढीको सहभागिता रहने कांग्रेसले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्