२२ जेठ २०८३, शुक्रबार
एमाले महाधिवेशन

एमालेमा पद्मा अर्यालको फड्को !

मंसिर १४, २०७८
एमालेमा पद्मा अर्यालको फड्को !

तमाम् आकांक्षीलाई पछि पार्दै पद्मा अर्याल नेकपा एमालेको सचिव बनिन् । नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित अर्यालले दशौं महाधिवेशनबाट सचिवमा फड्को मारेकी हुन् । एमालेको १९ जना पदाधिकारीमा २ जना मात्र महिला छन् । तर भूमिकाको हिसाबले उनी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा सक्रिय हुनेछिन् । 

नेकपा एमालेको पदाधिकारीका लागि कम्तिमा पनि आधा दर्जन महिला आकांक्षी थिए । ज्येष्ठताको हिसाबले राधा ज्ञवाली, सीता पौडेल र गोमा देवकोटा पद्माभन्दा ‘सिनियर’ हुन् । झण्डै १०० दिन गण्डकी प्रदेशको प्रदेश प्रमुख बनेकी सीता पौडेल विद्या भण्डारी अनेमसंघको अध्यक्ष हुँदा उपाध्यक्ष थिइन् । 

केपी ओली नेतृत्वको सरकार ढलेर कांग्रेस सभापति देउवाको सरकार बनेपछि फिर्ता बोलाइएकी पौडेल भूमिकाविहीन थिइन् । पूर्वमन्त्री ज्ञवालीले अष्टलक्ष्मीपछि आफू सिनियर भन्दै पदाधिकारीमा दाबी गरेकी थिइन् । 

डा. विन्दा पाण्डेले उपमहासचिवमा दाबी गरेकी थिइन् । दाबी उपमहासचिवमा गरेपनि उनी समेत सचिवकी आकांक्षी थिइन् ।

लामो समय एमाले निकट मजदूरहरूको संस्था जिफन्टमा रहेर काम गरेकी पाण्डे पदाधिकारी बन्नबाट वञ्चित बनिन् । 

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र थममाया थापालगायत सचिवका आकांक्षी थिए ।

केन्द्रीय सदस्यमा मात्र नभई पदाधिकारीमा पनि ३३ प्रतिशत सहभागिता हुनुपर्छ भनेर उनीहरूले बाहिर बोल्दै आएका थिए । पदाधिकारीमा कृपा खोजेर बसेका उनीहरूमध्ये कोही पनि बन्दसत्रमा बोल्न सकेनन् । 

सोमवार बिहान साढे ३ बजे केपी शर्मा ओलीले पदाधिकारीको सूची पढेर सुनाउँदा आकांक्षीहरू जिल खाए । 

‘के मापदण्डको आधारमा पद्मालाई सचिव दिइयो, हामी के कारणले अयोग्य भयौं त्यो खुलाइदिए हुन्थ्यो’ पदाधिकारीमा दाबी गरेकी एक महिला नेतृले भनिन्, ‘पार्टीमा हामीले गरेको योगदानको अवमूल्यन भयो ।’

को हुन् पद्मा ? 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर अर्याल चर्चामा आएकी थिइन् । 

प्रत्यक्ष निर्वाचित भएर आएकी पद्मालाई केपी अ‍ोलीले सरकारमा राम्रो भूमिका दिए ।

स्वास्थ्य राज्यमन्त्रीबाट सरकारमा प्रवेश गराएका ओलीले पछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मा दिए । पछि उनलाई कृषि मन्त्रालयको जिम्मा दिए । 

अर्यालको पालामा सरकारले कालापानी, लिपुलेक क्षेत्रलाई समेटेर नेपालको चुच्चे नक्सा प्रकाशित गर्‍यो । उनले आफ्नै पालामा सगरमाथाको उचाइ नापेर उचाइ बढेको तथ्यांक सार्वजनिक गर्न पाइन् । 

२०२५ सालमा स्याङ्जामा जन्मिएकी अर्यालले २०३९ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति शुरू गरेकी हुन् ।

उनले अखिल नेपाल महिला संघमा लामो समय राजनीति गरिन् । पछि उनी स्याङ्जा जिल्लामा पार्टीको जिल्ला अध्यक्ष भइन् ।

प्रत्यक्ष निर्वाचनबाट जिल्लामा पार्टी अध्यक्ष बन्ने नेकपा एमालेभित्र र सम्भवतः अन्य राजनीतिक दलमा पनि उनी पहिलो नेतृ हुन् । 

उनी अध्यक्ष बनेपछि २०७४ सालमा एमालेले स्याङ्जामा दुवै सीट चुनाव जित्यो । त्यसपछि पद्माको राजनीतिक गतिले बेग हान्यो ।

कुनैबेला एमालेभित्र वामदेव गौतमपक्षीय भनेर चिनिने अर्याललाई पछिल्ला चार वर्षमा केपी ओलीले ग्रुम गरे । 

वक्‍तृत्व क्षमता र कुनैपनि विषयमा अडान राख्न सक्ने अर्यालको खुबी भएको उनलाई चिन्नेहरू बताउँछन् ।

एमालेको दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित (घोषणा हुन बाँकी) भएपछि यसलाई उनको राजनीतिक फड्कोको रूपमा एमालेभित्र चित्रण गरिएको छ । 

उमेर हदका कारण आगामी महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बन्न नपाउँदा एमालेमा महिलाको नेतृत्वमा अर्यालको इन्ट्रीको रूपमा विश्लेषण गर्न थालिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्