
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् ।
बुधवार अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताए । यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको उनको भनाइ छ ।
उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरुलाई अनुकूल वातावरण समेत रहेको बताए ।
‘विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ–नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरूको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ,’ उनले भने ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरू र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेको बताउँदै उनले विशेष गरी महिला र युवाहरूलाई महासंघले सहयोग गरेको बताए ।
‘महासंघले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत् महिला तथा युवा व्यवसायीहरूलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,’ उनले भने, ‘आईहबमा हामीले व्यवसायमा लाग्न चाहने युवाहरूलाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौं ।’
त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत् नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उनले बताए । साथै महासंघले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीहरूलाई सहयोग तथा सहजीकरणका लागि सातवटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा इन्क्यूबेटर सेन्टरहरू स्थापना गर्न गइरहेकोसमेत उनले जानकारी दिए ।