फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई विदूषक भनेको अनि बेलायतलाई सर्कस भनेको एक फ्रान्सेली पत्रिकाले दाबी गरेको छ ।
आफ्ना सल्लाहकारहरूसँग आक्रोशपूर्ण कुराकानीका क्रममा म्याक्रोंले यसो भनेको बताइएको छ ।
फ्रान्स र बेलायतबीच ससेज, माछा मार्ने र आणविक पनडुब्बीका विषयमा विवाद चलिरहेको बेलामा म्याक्रोंले जोनसनलाई काम नलाग्ने मान्छेको संज्ञा दिएको ल कनार्ड अन्साँ पत्रिकालाई भित्रियाहरूले बताएका हुन् ।
म्याक्रोंले गत बिहीवार क्रोएसियाको भ्रमणमा आक्रोश व्यक्त गरेका हुन् । त्यही दिन इंग्लिश च्यानलमा २७ जना आप्रवासीहरूको डुबेर मृत्यु भएको थियो ।
ल कनार्डले लेखेको छ, ‘नोभेम्बर २४ मा जाग्रेब आउनेबित्तिकै म्याक्रोंले बोरिस जोनसनसँग कालाइको त्रासदीका विषयमा फोनमा कुरा गरेका थिए ।’
यस संवादका क्रममा म्याक्रोंका सल्लाहकारहरूले ट्विटरमा बोरिस जोनसनले म्याक्रोंलाई चिट्ठी लेखेको पाए । त्यो चिट्ठी म्याक्रोंले पढ्न पाएका थिएनन् ।
म्याक्रों यो देखेर रिसाए अनि जाग्रेबमा सल्लाहकारहरूलाई भने, ‘जोनसन मसँग कुरा गर्छन् । उनी विनयशील छन् । सबैथोक राम्रै छ । तर पछि उनी विदूषकले झैं अमर्यादित काम गर्छन् । यो सर्कस पहिलेदेखि चलिआएको छ ।’
म्याक्रों ब्रेक्जिटका घोर विरोधी हुन् । बेलायत र फ्रान्सबीचको तनावको आरम्भिक विन्दु नै बेलायतले युरोपेली संघको परित्याग गर्नु हो भनी म्याक्रोंले आरोप लगाएका छन् ।