
सत्तारुढ गठबन्धनले सर्वोच्च अदालतमा कार्यबहाक प्रधानन्यायाधीश तोकेर बिदामा बस्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको सत्ता गठबन्धनको बैठकले सर्वोच्चमा कार्यबाहक तोकेर बिदामा बस्न बिरामी प्रधानन्यायाधीशलाई आग्रह गर्ने निर्णय गरेको हो ।
‘प्रधानन्यायाधीश बिरामी भएकाले कार्यबाहक तोकेर बिदामा बस्न र सर्वोच्च अदालतको कामकारवाही अगाडि बढ्ने वातावरण बनाउन सुझाव दिने निष्कर्ष निकालेका छौं,’ बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले लोकान्तरलाई जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उपस्थित थिए ।
सर्वोच्च अदालतमा जारी गतिरोधबारे सत्ता गठबन्धनले पहिलोपटक मुख खोलेको हो ।
कोभिड संक्रमणका कारण जबरा मंसिर १३ गतेदेखि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका छन् ।
प्रधानन्यायाधीशको अनुपस्थितिमा बुधवार सर्वोच्चका न्यायाधीशहरूले गोलाप्रथाबाट पेशी तोकेपनि सुनुवाइ हुन सकेको थिएन ।
नेपाल बार एसोसिएसनले पनि कार्यबाहक तोक्न सर्वोच्चका न्यायाधीशहरूलाई सुझाव दिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार आन्दोलन र सर्वोच्चका न्यायाधीश भद्र अवज्ञामा उत्रिएपछि सर्वोच्च अदालतमा डेढ महिनादेखि नियमित सुनुवाइ हुन सकेको छैन ।