०३ असार २०८३, बुधबार
सन्दर्भ : एमाले महाधिवेशन

चितवन महाधिवेशनले जन्माएकी 'अब्बल' महिला नेत्री

मंसिर १६, २०७८
चितवन महाधिवेशनले जन्माएकी 'अब्बल' महिला नेत्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशन समापनका दिन पार्टीको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम घोषणा गर्दै थिए । त्यसक्रममा बागमती प्रदेश क्लस्टरअन्तर्गत निर्विरोध निर्वाचित केन्द्रीय सदस्य पार्वती रावलको नाम लिनेबित्तिकै हलमा परर ताली बज्यो ।

नबजोस् पनि किन, चितवनमा महाधिवेशन हुँदै गर्दा सबैजसो प्रतिनिधिका लागि चिरपरिचित र मुखैमा झुण्डिएको नाम बनिसकेको थियो, पार्वती रावल । यस्तो ताली अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराईलगायत सीमित नेताको नाम लिँदा मात्र बजेको थियो । 

देशका विभिन्न कुनाकाप्चाबाट आएका प्रतिनिधिलाई कुनै अप्ठ्यारो पर्दा, केही असहज हुँदा सबैभन्दा पहिला पुग्ने उनै हुन्थिन् । खाना खान लाइन लागेका प्रतिनिधिहरूलाई भेट्न पनि उनै पुग्थिन् । खाना खानुभयो कि भएन ? बास बस्न कुनै समस्या भएको छ कि ? भनेर हरेक प्रतिनिधिलाई सोध्थिन् ।

महाधिवेशन भइरहेको जिल्लाको पार्टी अध्यक्षका हैसियतले यो उनको जिम्मेवारी पनि थियो । उनी आफ्नो जिम्मेवारीमा यसरी खरो रूपमा उत्रिइन् कि उनको 'पार्ट'मा कसैले गुनासो गर्ने ठाउँ नै पाएनन् ।

रावल अहिले एमालेकी एक मात्र महिला जिल्ला अध्यक्ष हुन् । यसअघि स्याङ्जामा पद्मा अर्याल र मकवानपुरमा मुनु सिग्देलले एमाले जिल्ला कमिटी अध्यक्षको रूपमा नेतृत्व गरिसकेका छन् ।

समग्रमा भन्दा उनी देशभरीमै एमालेको तेस्रो महिला अध्यक्ष हुन् । पद्मा हाल पार्टी सचिव बनिसकेकी छन् भने सिग्देल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेकी छन् ।

कठिन घडीमा जिम्मेवारी, अब्बल प्रस्तुति

नेकपाकालमा चितवनस्थित जिल्ला पार्टी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बोलवाला थियो ।

पार्टी एकताअघि पनि एमालेको चितवन जिल्ला कमिटी माधव नेपाल पक्षकै कब्जामा थियो । जिल्ला कमिटीमा ९६ जना निर्वाचित हुँदा ९ जना मात्र अध्यक्ष केपी शर्मा ओली पक्षका थिए । त्यसमा सबैभन्दा सिनियर थिइन्, तत्कालीन सचिव पार्वती रावल ।

पार्टी एकता हुँदा एमाले र माओवादी दुवैका जिल्ला कमिटी मर्ज भए । १५५ सदस्यीय कमिटी बन्यो । नेकपाभित्र अन्तरसंघर्ष चर्किएका बेला प्रचण्ड र नेपाल पक्ष एकजुट हुने नै भए । ओली पक्ष ९ का ९, अर्कातर्फ १४६ जना ।

पूर्व माओवादी खेमाबाट रामबहादुर थापा बादलको साथ ओलीलाई मिले पनि चितवनमा त्यसको खासै प्रभाव थिएन । त्यतिबेला पूर्व माओवादी खेमाका सबैजसो नेता प्रचण्ड समूहमै थिए ।

अन्तरसंघर्ष चर्किँदै जाँदा केन्द्रमा प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट कारबाही गरे । केन्द्रदेखि जिल्लासम्म पार्टीको समानान्तर कमिटी बन्ने अवस्था आयो । 

त्यसपछि ओलीले सर्कुलर गरे– ‘हाम्रो समूहमा सिनियर मोस्ट जो छ, उसैले नेतृत्व लिने ।’ 

नेकपा कालमा जिल्ला कमिटीअन्तर्गत कार्यालय सदस्य रहेकी रावल समग्रमा चौथो वरीयतामा थिइन् । अध्यक्ष, सचिव र तेस्रो वरीयतामा रहेका नेता पनि प्रचण्ड–नेपाल समूहमा लागेकाले ओलीपक्षीय कमिटीको नेतृत्व उनकै काँधमा आइपुग्यो । 

समय बित्दै जाँदा घटनाक्रम यसरी विकसित भयो कि सर्वोच्चको एक फैसलाले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए । नेकपाको दर्ता नै भंग भयो । 

उनी अब एमालेको चितवन जिल्ला कमिटी अध्यक्ष बनिसकेकी थिइन् ।

चितवनमा रावलको समन्वयकारी छवि छ । कसैलाई नराम्रो भन्दिनन् । बिझाउने कुरा गर्दिनन् । अरू दलका नेताले समेत उनलाई राम्रो मान्छन् । यही खुबी यहाँ उनको काम आयो ।

सबैसँग मीठो बोल्ने, उनीहरूका कुरा सुनिदिने, कुनै गुनासो भए नेतृत्वसम्म पुर्‍याएर समाधानका लागि पहल गरिदिने गर्न थालिन् । परिणाम यस्तो देखियो– स्पष्ट अल्पमतमा रहेको संस्थापन पक्ष बहुमतभन्दा माथि पुगिसकेको थियो ।

तत्कालीन अध्यक्ष कृष्णभक्त पोखरेल पनि उनकै नेतृत्व मातहत आए । संस्थापन पक्षमा खुलेपछि पोखरेलले जिल्ला कमिटी बैठकबाटै औपचारिक रूपमा रावललाई जिल्ला अध्यक्षको रूपमा नेतृत्व हस्तान्तरण गरे ।

नेकपाकालीन अन्तरसंघर्ष एमालेमा पनि जारी रह्यो । माधव नेपालले समानान्तर अभ्यास गर्न थाले । एकताअघिको जिल्ला कमिटीका उपाध्यक्ष रहेका तेजेन्द्र खड्का (जो नेकपाकालमा तेस्रो वरीयतामा थिए) समानान्तर कमिटीको अध्यक्ष बने । 

समानान्तर कमिटी वा अर्को पक्ष भनेर उनले कहिल्यै फरक व्यवहार गरिनन् । परिणाम, खड्का पनि अहिले एमालेमै छन् । उनी माधव नेपालसँग एकीकृत समाजवादीमा गएनन् । 

अहिले तत्कालीन जिल्ला कमिटीका १४/१५ जना मात्र एकीकृत समाजवादीमा लागेका छन् । समानान्तर कमिटीका अध्यक्ष, सचिवसहित चिनिएका सबैजसो नेतालाई पार्टी काममा फर्काउन उनी सफल भैसकेकी छन् ।

पार्टी विभाजनको पूर्वसन्ध्यामा केन्द्रमा १० बुँदे सहमति भयो । जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने कुरा पनि उल्लेख थियो । 

त्यसपछि कृष्णभक्त पोखरेलले आफू पुनः अध्यक्ष हुने चाहना व्यक्त गरेका थिए । तर, ओलीले उनको कुरै सुनेनन्, ‘पार्वती नै अध्यक्ष हो, उनैले जिल्ला अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छिन्’ भनिदिए । कुरा त्यहीँ सकियो ।

चितवनको त्यो सभा, अनि दरबारमार्गको सम्बोधन 

अध्यक्ष केपी शर्मा ओलीले उनलाई यति धेरै विश्वास गर्नु र महत्त्वपूर्ण जिम्मेवारी दिनुका पछाडि चितवनमा आयोजित एक सभाको मत्त्वपूर्ण योगदान छ ।

नेकपाको अन्तरद्वन्द्व समानान्तर अभ्यासको अवस्थामा पुगेका बेला दुवै पक्ष एकअर्काविरुद्ध शक्ति प्रदर्शनको होडमा थिए । 

देशका मुख्य शहरहरूमा दुवै पक्षले शक्ति प्रदर्शन गर्ने हिसाबले सभा गरिरहेका थिए ।

यही क्रममा ओलीलाई प्रचण्डको गृह जिल्ला चितवनमा गएर शक्ति प्रदर्शन गर्नु निकै महत्त्वपूर्ण थियो । त्यसै पनि चितवनको जिल्ला कमिटीमा दुईतिहाइभन्दा बढी सदस्य प्रचण्ड–नेपाल पक्षमा थिए ।

चितवनमा सभा आयोजना भयो । उक्त सभामा उपस्थिति यस्तो रह्यो कि जुन ओली पक्षका शायदै नेताले कल्पना गरेका थिए । त्यो विशाल उपस्थितिको पृष्ठभूमिमा उनै रावल थिइन् ।

चितवनबाट निकै खुशी भएर फर्किएका ओलीले दरबारमार्गमा आयोजित विशाल सभामा त्यसको पुरस्कार दिए । दरबार मार्गको सभालाई सम्बोधन गर्ने रावल एक मात्र महिला नेतृ थिइन् ।

ठूल्ठूला नेताले समेत बोल्न समय नपुगेको सभामा उनले मौका पाइन्, जसको उनले भरपुर सदुपयोग पनि गरिन् । नेतृत्वको नजरमा उनको राजनीतिक हाइट बढेरै गयो ।

अनि भयो चितवनमा महाधिवेशन

पार्टीको राष्ट्रिय महाधिवेशन चितवनमा गर्न पाए हुन्थ्यो भन्ने उनलाई पहिलेदेखि नै लागेको रहेछ । तर, महाधिवेशन बुटवलमा गर्ने भनेर घोषणा नै भइसकेको थियो ।

यसबीचमा ललितपुरको गोदावरीमा असोज १५ देखि १७ सम्म प्रथम विधान महाधिवेशन भयो । विधान महाधिवेशन सकिएको २ दिनपछि उनी अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगिन् ।

उक्त भेटमा ओलीले उनको मनकै कुरो सोधे– ‘चितवनमा महाधिवेशन गर्न सकिन्छ र ?’

‘चितवनमा राष्ट्रिय महाधिवेशन गर्न पाए हुन्थ्यो भन्ने मलाई पहिले नै लागेको थियो । विधान महाधिवेशन सकिएपछि सम्भवतः १९ गते हुनुपर्छ, म बालकोट पुगेको थिएँ । अध्यक्ष ओलीले चितवनमा महाधिवेशन गर्न सकिन्छ र भनेर सोध्नुभयो,’ ओलीसँगको त्यो भेटको प्रसंग उल्लेख गर्दै रावलले भनिन्, ‘मैले सकिन्छ भनें । उद्घाटन सभा र आवासका लागि कुनै समस्या हुँदैन, बन्दसत्रका लागि अलिकति म्यानेज गर्नुपर्छ भन्ने कुरा भयो ।’

त्यसक्रममा टेन्ट टाँगेर बन्दसत्रका लागि हलको व्यवस्थापन गर्न सकिने विकल्प पनि अध्यक्ष ओलीसामु पेश भयो । अध्यक्ष ओलीले त्यो कुरा सहर्ष स्वीकारे ।

‘उहाँले टेन्टमा पनि गर्न सकिन्छ, विधान महाधिवेशन भइसकेकाले यसपालि हाम्रो बन्दसत्र लामो हुँदैन भन्नुभयो,’ ओलीसँगको संवाद स्मरण गर्दै रावलले भनिन् ।

त्यो प्रसंग त्यसै सकियो । ३ वर्षदेखि ठप्प पार्टी गतिविधिलाई सुचारु बनाउनु थियो । वडा, पालिकादेखि जिल्लासम्मको अधिवेशन गर्नु थियो । 

जिल्ला अध्यक्षको हैसियतले यो सबै जिम्मेवारी उनको हुने नै भयो ।

अबचाहिँ चितवनमा महाधिवेशन हुनसक्छ है भन्ने उनलाई लाग्न थालेको थियो । तर, पार्टीले आधिकारिक निर्णय नलिँदासम्म तयारी थालिहाल्ने अवस्था थिएन ।

‘चितवन देशको मध्य भागमा छ । ७/८ घण्टामा यहाँबाट सुदूरपूर्व र सुुदूरपश्चिम दुवैतिर पुगिन्छ । भौगोलिक सुगमता, पूर्वाधार सबै हिसाबले चितवन उपयुक्त हुन्छ भन्नेमा हामी ढुक्क थियौंं, तर पार्टीले निर्णय नगर्दासम्म औपचारिक तयारी थाल्ने अवस्था थिएन,’ उनले भनिन् ।

कात्तिक ४ गते रावल चितवनमा पार्टीकै बैठकमा थिइन् । त्यही बीचमा तत्कालीन महासचिव ईश्वर पोखरेलको फोन आयो । पोखरेलले चितवनमा महाधिवेशन गर्ने निर्णय भएको कुरा सुनाए ।

‘बैठक बसिराखेका थियौं । पार्टीको स्थायी कमिटीले १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भनेर निर्णय गरेको सूचना महासचिव ईश्वर कमरेडले फोनमार्फत दिनुभयो । त्यसपछि ५ गते पत्रकार सम्मेलन गरेर चितवनमा महाधिवेशन हुन लागेको जानकारी गरायौं र पार्टी नेतृत्वलाई धन्यवाद पनि दियौं’, रावलले भनिन् । 

उनी चितवनमा महाधिवेशन ल्याउन चितवनबाट प्रतिनिधित्व गर्ने नेताहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, देवी ज्ञवालीलगायतको भूमिका पनि निकै महत्त्वपूर्ण रहेको बताउँछिन् ।

महाधिवेशन सञ्चालनका लागि मूल आयोजक कमिटी बन्यो, जसमा उनी एक मात्र महिला सदस्य थिइन् ।

पत्रकार सम्मेलन गर्दैगर्दा तयारीका लागि जम्मा १ महिना ४ दिन मात्र बाँकी थियो । पार्टीको स्थानीय कमिटीका अधिवेशनहरू बाँकी नै थिए ।

दुवै काम एकसाथ गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी उनको काँधमा आइपर्‍यो । 

‘चितवनमै पार्टीको महाधिवेशन हुँदैछ भनेपछि जिल्लाभित्र पार्टीका विभिन्न कमिटीलाई अझै सशक्त र क्रियाशील बनाएर अगाडि बढाउनुपर्ने थियो । हामीले ७ वटै स्थानीय तह र सबै वडा कमिटीमा निर्विरोध नेतृत्व चयन गर्‍यौं । महाधिवेशन प्रतिनिधि चयनमा पनि निर्वाचनमा नजाऔं भनेर सर्वसम्मत रूपमा नै २८ जना प्रतिनिधि चुन्यौं । ३ वर्षदेखि ठप्प रहेको पार्टी काम एक महिनामा नै सम्पन्न भयो,’ उनले गर्वसाथ सुनाइन् ।

जिल्ला अधिवेशन महाधिवेशनभन्दा पछि मात्र गर्ने तय भएकाले पार्टीका अन्य काम सम्पन्न भए । तर, उनको मुख्य र चुनौतीपूर्ण जिम्मेवारी बाँकी नै थियो ।

‘अहिले ७७ वटै जिल्लामा म पार्टीको एकमात्र महिला अध्यक्ष हो । जिम्मेवारी आउँदा महिलाले पनि गर्न सक्छन् भन्ने देखाउनका लागि पनि महाधिवेशनलाई कमजोरीरहित बनाउनुपर्छ भन्नेमा दृढ थिएँ,’ महाधिवेशन तयारीका दिन सम्झँदै उनले भनिन्, ‘हरेक दिनजसो बैठक बसियो । दिनभरी गरेका कामको समीक्षा बेलुका जिल्लाका मुख्य नेताहरू बसेर गर्थ्यौं ।’

महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा गर्ने तय भएको थियो, तर नारायणी किनार बनीबनाउ मञ्च होइन । त्यसलाई सभाका लागि योग्य बनाउन धेरै काम गर्नुपर्ने थियो ।

महाधिवेशन मूल आयोजक कमिटी तथा मञ्च व्यवस्थापन कमिटी लगायत पनि तयारीका लागि चितवनमा क्रियाशील थिए । चितवनका अन्य नेता समेत खटेकै थिए ।

९ दिन लगाएर नारायणी किनारलाई उद्घाटन समारोहका लागि तयार पारियो ।   

‘मंसिर १ गते बिहानबाट नारायणी किनारमा खाल्डाखुल्डी पुर्ने, मिलाउने, सम्याउने काम शुरू भयो । ९ गते बेलुकासम्ममा हामीले त्यहाँ सबै काम सम्पन्न गरिसकेका थियौं । यसमा मञ्च व्यवस्थापन कमिटी, केन्द्रीय सदस्य विनोद श्रेष्ठ र स्वयं सेवक साथीहरूको भूमिका निकै महत्त्वपूर्ण रह्यो,’ उनले भनिन्, ‘सौराहामा बन्दसत्र गर्ने ठाउँमा पनि पानी जमेको थियो । त्यसलाई सम्याएर टेन्ट राख्ने ठाउँ बनाइयो ।’

महाधिवेशनमा अभूतपूर्व सहभागिता भयो । नारायणी किनारले सहभागीलाई थेग्न सकेन । कतिले नारायणी पुलबाटै सभा हेरे । कतिपय मञ्च समेत नदेखी फर्किए । यसमा उनको व्यक्तिगत दोष केही थिएन, उपस्थिति नै त्यति विशाल थियो त के गर्नु !

उद्घाटन समारोहमा पार्टीका तर्फबाट मुख्यरूपमा अध्यक्ष ओलीले मात्र सम्बोधन गरे । त्यसअघि शुरूमा नेता रामबहादुर थापा बादलले स्वागत मन्तव्य राखेका थिए ।

अन्त्यमा उनले धन्यवाद मन्तव्य राख्ने मौका पाइन् । अध्यक्ष ओलीलगत्तै बोलेकी उनले भनिन्– ‘जिम्मेवारी आए गरेर देखाउन सकिन्छ भन्ने उदाहरण आजको नारायणी किनार हो ।’

नारायणी किनारलाई कस्तोबाट कस्तो अवस्थामा पुर्‍याइयो र यति विशाल सभा सम्भव बनाइयो भन्ने उनको आशय थियो ।

कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन चितवनमा गर्ने तयारी २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले 'कु' गरेपछि टरेको इतिहास सम्झिँदै उनले ६० वर्षपछि चितवनले त्यो गौरव प्राप्त गरेको बताइन् ।

उनले चितवनमा महाधिवेशन आयोजना भएकोमा खुशी व्यक्त गरिन्, अनि सभालाई सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् ।

झोलाभित्रको त्यो कोसेली 

नारायणी किनारको सभा सकिएपछि एमालेका महाधिवेशन प्रतिनिधिहरू बन्दसत्रका लागि सौराहातर्फ लागे । सौराहा पुगेका प्रतिनिधिलाई पार्टीका तर्फबाट एक–एकवटा झोला पनि बाँडिएको थियो ।

झोलाभित्र एमालेको चितवन जिल्ला कमिटीको तर्फबाट एउटा मायाको चिनो राखिएको थियो, जसमा अध्यक्षको हैसियतले उनै रावलले हस्ताक्षर गरेकी थिइन् ।

चितवन जिल्लाको नक्सा आकारभित्र एमाले महाधिवेशनको लोगो राखेर ‘स्मृति चिह्न’ तयार पारिएको थियो । त्यसको तल जिल्ला कमिटी अध्यक्ष रावलको हस्ताक्षर थियो ।

‘चितवनको नक्सा र महाधिवेशनको लोगोअंकित स्मृति चिह्न पाएपछि धेरैले ‘एप्रिसिएट’ गर्नुभयो । त्यसो त म खानाको हरेक लाइनमा पुगेको हुन्थें, सबै होटलमा पुगेर के कसो छ भनेर सोध्थें । यसरी दौडिरहेको देख्दा एउटा महिलाले पनि यो सब गर्न सक्छ भन्ने प्रमाणित गर्नुभयो भनेर धेरैले भन्नुभयो,’ उनले भनिन् ।

‘ओली खुशी भएर फर्किए, विष्णु पौडेलले प्रशंसा गरे’

महाधिवेशन समापनको भोलिपल्ट बुधवार भरतपुर विमानस्थलबाट अध्यक्ष केपी शर्मा ओलीलाई बिदाइ गर्दैगर्दा उनले आफूलाई प्राप्त महत्त्वपूर्ण जिम्मेवारीका लागि धन्यवाद दिइन् । ओलीले पनि खुशी व्यक्त गरे ।

‘अध्यक्ष कमरेड चितवनबाट फर्किँदै गर्दा मैले उहाँलाई धन्यवाद दिएँ । व्यक्तिगतरूपमा क्षमता प्रदर्शन गर्ने मौका दिनुभयो, धेरै कुरा सिक्न पाएँ भनें,’ रावलले लोकान्तरसँग भनिन् ।

रावल पार्टी नेतृत्व, जिल्लाका आफूभन्दा सिनियर नेताहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, अन्य पार्टी सबैप्रति अनुग्रहित छिन् । सबैको सहयोग र सद्भावले यो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सकेको उनको बुझाइ छ ।

चितवनबाट फर्किएपछि उपाध्यक्ष विष्णु पौडेलसँग फोनमा उनको कुराकानी भएको रहेछ । ‘उहाँले तपाईंको क्षमता र म्यानेजरियल पार्टबाट एकदमै प्रभावित भएँ भन्नुभयो,’ रावलले खुशीसाथ सुनाइन् ।

उनी अब छिटोभन्दा छिटो चितवनको जिल्ला अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहन्छिन् । उनलाई केन्द्रीय राजनीतिमा अगाडि बढ्नु छ । केन्द्रीय सदस्य बनिसकेपछि त्यसका लागि बाटो पनि खुलेको छ ।

‘यताको हिसाबकिताब सबै सकेर, बरबुझारथ गरेर केही दिनमा काठमाडौं आउँछु,’ फोनमा भएको कुराकानीमा उनले भनिन्, ‘व्यस्तताले छोराहरूलाई नभेटेको पनि धेरै भयो । न्यास्रो मानिसकेका होलान् ।’

उनका छोराहरू अध्ययनको शिलशिलामा काठमाडौंमा छन् । जेठो छोरा कक्षा ११ मा अध्ययनरत छन् भने कान्छो छोरा भर्खरै स्कूल जान थालेका छन् । 

 


काठमाडौंमा उनको अर्को जिम्मेवारी पनि छ– राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिका रूपमा ।

‘पार्टीको महाधिवेशनका कारण केही समययता समितिलाई समय दिनै पाएको छैन । यताको काम सकेर उता खट्नुपर्ने छ,’ यति भन्दै उनले कुराकानीलाई बिट मारिन् ।

salt training

कमेन्ट गर्नुहोस्