०८ असार २०८३, सोमबार

बबरमहलमा १६ वर्षीया सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी

मंसिर १६, २०७८
बबरमहलमा १६ वर्षीया सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी

कलाकार सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी  ‘महिला हिंसाः भ्रूणदेखि घाट सम्म’ बिहीबारदेखि सुरु भएको छ । टिम नेपोको आयोजनामा भएको सो चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा तीन दिनसम्म चल्नेछ ।

१६ वर्षीया पाण्डेले करिव २ वर्षदेखि  ‘महिला हिंसाः भ्रुणदेखि घाटसम्म’  थिममा आर्ट गरेकी थिइन् भने कोरोनाको कारण रोकिएको यस चित्रकला प्रदर्शनीलाई आजदेखि प्रदर्शनमा राखिएको हो । पाण्डे जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेकी छोरी हुन् । सो अवसरमा डा पाण्डेले बालबालिकालाई अभिभावकले पर्याप्त समय दिनुपर्ने र सो क्रममा उनीहरुलाई समाजका बारेमा यथेष्ट जानकारी पनि दिनुपर्ने बताए ।

‘म कामबाट बेलुका फर्किएपछि परिवारसँग नियमित आधा घण्टा गफ गर्छु, जसमा समाजमा घटेको घटनाबारे कुराहरु गर्ने गर्छु । अहिलेको यस कन्सेप्ट पनि त्यही पारिवारिक गफबाट नै सिर्जना भएको हो’, पाण्डेले भने, ‘त्यसैले आफ्नो बालबालिकालाई दिनमा आधा घण्टा भएपनि समय छुट्याएर कुरा गर्ने गरौँ । यसले गर्दा आफ्ना बच्चाहरुले समाजको बारेमा थाहा पाउँछन् भने त्यसबाट उनीहरुलाई सिर्जनशील हुनमा पनि मद्दत मिल्नेछ।’   

त्यस्तै कार्यक्रममा कलाकार रसना बज्राचार्यले  सुप्रियाको चित्रकलाको तारिफ गरिन् । ‘नेपाल कलाको धनी देश हो र नारीलाई देवीको रुपमा पुज्ने गरिन्छ तर व्यवहारमा भने देखिँदैन ।  त्यही कुरालाई यति सानो उमेरमा  चित्रमार्फत पेस गर्न सक्ने खुबी सुप्रियामा देख्दा खुसी लागेको छ’, उनले भनिन् ।

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले  १६ वर्षको कलिलो उमेरमा नै महिला हिंसाजस्तो संवेदनशील विषयवस्तु सुप्रियाले चित्रकलामार्फत प्रस्तुत गरेको भन्दै उनको आगामी उज्ज्वल भविष्यको कामना गरे ।

सुप्रियाले एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि महिलाहरुले सहनु र भोग्नुपरेका घरेलु तथा सामाजिक हिंसाहरुमा केन्द्रीत रहेर ३० वटा चित्रहरूको प्रदर्शनी गरेकी छिन् ।  प्रदर्शनीबाट बिक्री भइ संकलित रकम कर्णाली प्रदेशको महिला हिंसाविरुद्धका संघसंस्थाहरुलाई सहयोग स्वरुप दिइने टिमनेपोका अध्यक्ष डा निगम पौडेल जानकारी दिए ।     

salt training

कमेन्ट गर्नुहोस्