
नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको सातवटै ठाउँमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको ब्यानर राखिएको छ । महाधिवेशन बन्दसत्र चलिरहेको गेटमा राखिएको शेखरको स्वागत ब्यानरलाई महत्त्वका साथ हेरिएको छ ।
कांग्रेसको प्रदेश अधिवेशन बिहीवार शुरू भएको थियो । प्रदेश अधिवेशन चलिरहेका विराटनगर, हेटौंडा, पोखरा, भैरहवा, सुर्खेत र धनगढीमा महाधिवेशनस्थलमा शेखरको स्वागत ब्यानर राखिएको छ ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर सभापति पदका एक सशक्त उम्मेदवार हुन् । ‘सातवटै प्रदेशको अधिवेशन चलिरहेको स्थानमा शेखर कोइरालाको स्वागत ब्यानर राखिनुको अर्थ खास अर्थ छ,’ कांग्रेसका एक महाधिवेशन प्रतिनिधिले भने, ‘संस्थापन इतर पक्षबाट उहाँ सभापतिको बलियो उम्मेदवार हो ।’

महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका शेखरले अहिलेसम्म औपचारिक घोषणा भने गरेका छैनन् । शुरूमा कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने र त्यसपछि कांग्रेस संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने भन्दै उनले औपचारिक घोषणा गरेका छैनन् ।
गत कात्तिक ३० गते कोइराला परिवारका अर्का सदस्य डा. शशांक कोइरालासँग यसपटक सभापतिमा शेखरलाई सघाउने भद्र सहमति भएको थियो ।
सहमतिअनुसार मंसिर १ गते पत्रकार सम्मेलनमार्फत शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्ने तयारी रहेकोमा शशांक कोइराला अचानक संखुवासभा उडेपछि त्यो कार्यक्रम प्रभावित भएको थियो ।

मंसिर १ गते आफ्नै निवासमा बोलाउने तय भएको पत्रकार सम्मेलन ८ गतेलाई सार्न शशांकले प्रस्ताव गरेका थिए । तर महाधिवेशन उद्घाटन हुन एक हप्ता बाँकी रहँदासमेत संस्थापन इतरबाट सभापतिको उम्मेदवार टुंगो लागेको छैन ।
संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले सभापति दोहोरिने बताइसकेका छन् भने विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । संस्थापन इतर समूहबाट शेखरका अतिरिक्त प्रकाशमान सिंहले पनि सभापतिमा लड्ने बताएका छन् ।
