श्रीलंका र वेस्ट इन्डिजबीचको दोस्रो टेस्टमा श्रीलंका १६४ रनले विजयी भएको छ ।
गल स्टेडियममा शुक्रवार सम्पन्न खेलमा वेस्ट इन्डिजले २९७ रनको लक्ष्य पछ्याएकोमा पूरै टीम १३२ रनमा अलआउट भयो ।
श्रीलंकालाई विजय दिलाउन धनञ्जय डी सिल्भाको १५५ रन जिम्मेवार रह्यो । उनले दोस्रो इनिङमा २६२ बलको समाना गर्दैै ११ चौका र दुई छक्काको मद्दतले १५५ रन बनाएका हुन् ।
टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङमा २०४ रन बनाएको थियो । पाथुम निशंकाले सर्वाधिक ७३ रन बनाए । वेस्ट इन्डिजका बलर वीरासामी पेरामलले पाँच र जोमेल वारिकानले चार विकेट हात पारे ।
जवाफमा वेस्ट इन्डिजले पहिलो इनिङमा २५३ रन बनायो । उसका लागि कप्तान क्रेग ब्रेथवेटले सर्वाधिक ७२ रन बनाए । श्रीलंकाका लागि रमेश मेन्डिसले ६ विकेट हात पारे ।
दोस्रो इनिङमा धनञ्जयको शानदार ब्याटिङसँगै श्रीलंकाले नौ विकेटमा ३४५ रन बनायो । वेस्ट इन्डिजका पेरामलले तीन विकेट लिए ।
वेस्ट इन्डिजले अन्तिम इनिङमा जम्मा १३२ रन बनायो । उसका लागि न्क्रुमा बोनरले सर्वाधिक ४४ रन बनाए ।
श्रीलंकाका लसिथ एम्बुलदेनिया र रमेश मेन्डिजले समान ५–५ विकेट लिए ।
श्रीलंकाले २–० का साथ शृंखला जितेको हो । पहिलो टेस्टमा पनि श्रीलंका १८७ रनले विजयी भएको थियो ।