
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेतृत्वको लागि रोल्पाका अम्मरसिंह पुन र रूपन्देहीका भरतकुमार शाहको उम्मेदवारी परेको निर्वाचन अधिकृत बुद्धबहादुर थापाले लोकान्तरलाई जानकारी दिए ।
पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूह निकट मानिन्छन् । संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।
अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू भएको छ । त्यसै गरी उपसभापतिमा राजु खनाल, सुधाकर पाण्डे, भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवारी परेको छ । खनाल र पाण्डे देउवा समूहका हुन् भने श्रेष्ठ र पाठक पौडेल निकट हुन् ।
त्यस्तै महामन्त्रीमा जन्मजय तिमल्सिना, खिमानसिंह रायमाझी, विक्रम खनाल, सुरेशराज आचार्य र ताराप्रसाद फुल्लेल गरी ५ जनाको उम्मेदवारी परेको छ । फुल्लेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । त्यसैगरी सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी, माया पुन, खगराज पाण्डे, विष्णु खनाल ‘मुस्कान’ र नीमा गिरीको उम्मेदवारी परेको थापाले जानकारी दिए ।
शनिवार बिहान ८ बजेदेखि नयाँ नेतृत्वको लागि मतदान शुरू हुने निर्वाचन कार्यतालिका छ । शाहलाई गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको साथ छ भने पुनलाई कांग्रेस युवा नेता चन्द्र भण्डारी, शेखर कोइराला र गगन थापाको साथ छ ।
लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभा र महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ ।