२१ जेठ २०८३, बिहीबार

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

मंसिर १८, २०७८
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता
फाइल फोटो

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । 

सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

‘सीमा नाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौं,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारत लगायतका मुलुकमा देखा परेपछि नमूना परीक्षणा गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ ।’

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उनले बताए । जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पीसीआर रिपोर्टसँगै कोरोनाविरुद्धको खोप लगाइएको कार्ड समेत हेर्ने गरिएको छ । 

यसैबीच, भारतबाट भित्रिने यात्रुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शंकास्पद यात्रुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गरिँदै आएको छ ।

‘मलेरिया र कोरोना सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा परीक्षण गरी यकिन गरिन्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, ‘क्षयरोग (टीवी) को परीक्षणका लागि खकार संकलन गरी जिल्लामै रहेको जिन ल्याबमा लगेर परीक्षण गर्छौं ।’

क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत जानकारी समेत दिइने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्