३० जेठ २०८३, शनिबार
उद्यम

मिल चलाउने कल्पनाको लोभलाग्दो हिम्मत

मंसिर १८, २०७८
मिल चलाउने कल्पनाको लोभलाग्दो हिम्मत

सबेरै उनको मोबाइलमा घण्टी बज्छ । मिल बन्द त छैन नि ? हतारिँदै उठेर हातमुख धोएर उनी मिल छिर्छिन् ।

उनीलाई बस्ने र आराम गर्ने फुर्सद समेत हुँदैन । कुनै–कुनै दिन त उनलाई खाना खाने फुर्सद समेत हुँदैन । 

रुपन्देहीको तिलोत्तमाकी कल्पना पाण्डेको दिनचर्या अहिले यसरी नै बितेको छ । पाण्डेय दुर्गा तेल मिलकी सञ्चालक हुन् । मझौला उद्योग चलाएर कल्पनाले घरखर्च मात्र चलाएकी छैनन्, राम्रो कमाइ पनि गरेकी छन् । उनले कर्मथलो बनाएकी छन्, तिलोत्तमा–३ जानकीनगरमा मिल । 

पहिला कल्पनाका ससुराले तेल मिल सञ्चालन गरेका थिए । छोराहरूमा अंशबण्डा भएपछि जेठा छोरा अर्थात् कल्पनाका पति कृष्णले नगद ९ लाख रुपैयाँ तिरेर आफ्नो भागमा मिल पारेका थिए । मिल आफ्नो भागमा परेपछि कल्पनाले मिलमा कुटानी–पिसानी लगायतका सबै व्यवस्थापन आफैं गर्न थालिन् ।

कल्पनाले भनिन्, ‘महिलाले मिल चलाउने काम अनौठो भए तापनि मैले भने २–४ दिनमै मिल चलाउन सजिलै सिकें । शुरूशुरूमा मिलको आवाज सुन्दै डर लाग्थ्यो र कुनै पनि किसिमका दुर्घटना पो हुन्छ कि भन्ने मनमा त्रास हुन्थ्यो तर राम्रोसँग मिल चलाउन सिकेपछि डर, त्रास आफैं भागेर जाँदो रहेछ ।’

‘भेलसँग डराएर डुंगा नदी पार हुँदैन, कोसिस र प्रयास गर्नेको कहिल्यै हार हुँदैन,’ उनले निर्धक्कसँग भनिन् ।

करीब १ कठ्ठा जग्गामा रहेको तेल मिल कल्पनाका लागि कर्मथलो भएको छ । कल्पना बिहानै मिलको ढोका उघार्छिन् र राति ८–९ बजे बन्द गर्छिन् । उनको मिलमा गहुँ, कोदो, मकै, धान सबै किसिमका अन्न र दलहन कुटानी–पिसानी हुने गर्छ । बिहान सखारैदेखि कल्पनाले कुटानी–पिसानीमा समय बिताउँछिन् ।

मिलमा गहुँ र दाल पिसानी गरेको किलोको ६ रुपैयाँ पर्छ भने चामल, मकै, दाना पिसेको प्रतिकिलो ७ रुपैयाँ लाग्ने उनले बताइन् । बेसार र मसला पिसेको प्रतिकिलो ६० रुपैयाँ र तोरी पेलेको किलोको १३ रुपैयाँ लाग्ने कल्पनाले बताइन् । यसरी सरदर हिसाब गर्दा औसतमा दिनमा २ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म कुटानी–पिसानीबाट आम्दानी हुने सुनाइरहँदा उनको मुहारमा खुशीको मुस्कान थियो ।

कल्पनाले कुटानी–पिसानी मात्र गर्दिनन्, बर्दिया, दाङ र पहाडी जिल्लाबाट तोरी, गहुँ, मकै, कोदो, फापर र गेडागुडी किनेर पेल्ने, कुटाउने र पिसानी गरेर खुद्रा रूपमा बेच्छिन् । बर्सेनि २०–२५ लाख रुपैयाँका अन्न, दलहन, तेलहन खरिद गरेर बिक्रीबट्टा गर्ने कामले उनमा थप कामको जिम्मेवारीबोध भएको सुनाइन् । 

उनको कामबाट प्रभावित हुनेहरू धेरै छन् । मिलमा आउने सबैसँगको व्यवहार र इमान्दारिताले आफू हालसम्म व्यवसायमा टिकेको उनी बताउँछिन् । ‘मिलमा आउनेहरू फोन गरेर सोध्छन्,’ उनले भनिन्, ‘म पनि फोन आउनेबित्तिकै सबैथोक छाडेर पिसानी गर्छु ।’

उनले कहीँबाट अनुदान लिएकी छैनन् । आफ्नो वडाका जनप्रनितिधि र कर्मचारीहरूले मिलमा आएर नेपालमै रहेर नेपाली महिलाले गरेको जोखिमपूर्ण कामप्रति गरेको सम्मान र उद्यम गर्न दिएको हौसलाले ठीकै काम गरेको रहेछु भन्ने उत्साह जागेको कल्पनाले बताइन् ।

२०७३ सालमा आफ्नै तरिकाले मिल सञ्चालन गर्न थालेपछि दिनरात नभनी कल्पनाले दुःख गरेकी छन् । पतिको साथ समेत लिएकी छन् । अति नै कामको चटारोले उनलाई सधैं असारको १५ नै हुने गर्छ ।

२ भाइ र २ बहिनी थिए कल्पनाका माइती घरमा । बुवाआमाले भैसीपालन र कृषि कर्म गरेर राम्रै घरव्यवहार चलाएका थिए । उनका बुवालाई भेटेनरी सम्बन्धी राम्रै ज्ञान थियो । माइतीघरमा खासै दुःख थिएन । बुवाआमाले पाल्पा सदरमुकाम तानसेनमा राखेर उनलाई पढाएका थिए ।

माइतीघरकी जेठी छोरी कल्पनाले पाल्पाको तानसेनस्थित मोहनकन्या माविबाट २०६० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रवेशिका परीक्षा दिएपछि उनको बिहे भयो । बिहेपछि उनी तिलोत्तमा नगरपालिकामा आइपुगिन् र अहिले उनको परिवार तिलोत्तमा नगरपालिका–३ रुपन्देहीपथमा स्थायी वासिन्दाका रूपमा बस्दै आएको छ ।

२०६२ सालमा उनले शंकरनगरमा रहेको न्यू लाइट आवासीय माविबाट ११–१२ कक्षा समेत उत्तीर्ण गरिन् । उनलाई पढाउनका लागि पति कृष्णको अति नै सहयोग थियो । उच्च शिक्षा हाँसिल गर्ने उनको रहरलाई घरधन्दा, सन्तानको जन्म, सुत्केरीपछि पक्षघात भएकी देउरानी र उनका सन्तानलाई गर्नु परेको स्याहारसुसारले पूरा गर्न दिएन ।

उच्च शिक्षा पढ्न नपाए पनि कल्पनाले आफ्नो उद्यममा गरेको मेहनत हेर्दा विश्वविद्यालयको सर्टिफिकेटधारीभन्दा कुनै कुरामा कमी देखिँदैन । घरधन्दा र मिलको कामले उनलाई छिनभर फुर्सद छैन । ग्राहकको सेवाका लागि कहिलेकाँही उनी बिहानै ५ बजे र राति १०–११ बजेसम्म खटिएकी हुन्छिन् । त्यो उनको सेवाभाव पनि हो ।

कल्पनाका पति कृष्ण मेकानिक हुन् । मिल बिग्रिएर कल्पनालाई कुनैदिन रोकिनु परेको छैन । भारतको पञ्जाव, दुबई र कोरियामा उनले विभिन्न समयमा आफ्ना सीपहरू तिखार्न पुगे । पछिल्लो पटक उनी सन् २०१६ मा दक्षिण कोरियाबाट नेपाल फर्केपछि आफ्नै ठाउँमा कर्म गरिराखेका छन् । 

उनीसँग बुटवल पावर कम्पनीमा टर्वाइन बनाउने काम गरेको अनुभव पनि छ । अहिले आफ्नो मिलबाहेक अन्य उद्योगमा समेत मेकानिकल सेवाहरू दिँदै आएका छन् उनी ।

कल्पनाको माइती घर पाल्पाको बराङ्दी र कर्मघर पाल्पाकै ख्याहा गाउँ थियो । उमरेले १८ टेक्दै गर्दा कल्पनाको २०६० सालमा कृष्णप्रसाद पाण्डेयसँग बिहे भएको थियो । 

अहिले कल्पना दम्पतीका छोरा रोशन बुटवलको कालिका मानवज्ञान माविमा ९ कक्षामा पढ्दैछन् भने छोरी कृपा तिलोत्तमाको स्मृति बोर्डिङ स्कूलको ७ कक्षामा पढ्दैछिन् । सानो र सुखी परिवारले उनीहरूको सम्पन्नताको परिचय दिइरहेको छ ।

कल्पनाको भविष्यको सोंच भनेकै आफ्नो तेल मिललाई व्यवस्थित गर्ने, सबै किसिमका सेवासुविधा दिने र बिजुली नआउँदा समेत जेनेरेटरको सहायताले कुटानी–पिसानीलाई निरन्तरता दिने रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्