०३ असार २०८३, बुधबार
उदाहरणीय शिक्षक

उजाड हुनै लागेको स्कूललाई आकर्षक बनाउने यी ‘हेडसर’ : भर्नाका लागि प्रदेश प्रमुखसम्मको फोन

मंसिर १८, २०७८
उजाड हुनै लागेको स्कूललाई आकर्षक बनाउने यी ‘हेडसर’ : भर्नाका लागि प्रदेश प्रमुखसम्मको फोन

मोरङको विराटनगरस्थित पोखरीया माध्यमिक विद्यालयको प्रधानाध्यापकमा २०६८ सालमा खेमराज भट्टराई नियुक्त भए । उनी प्रधानाध्यापक (हेडसर) भएर आउँदा ४०० विद्यार्थी अध्ययनरत थिए ।

उनी आएको २ वर्षपछि विद्यार्थीको संख्या घटेर ३५० पुग्यो । विद्यार्थी संख्या घट्दै जान थालेपछि उनलाई चिन्ता थपिँदै जान थाल्यो ।

विद्यार्थीको संख्या घट्दै जान थालेपछि उनले कारण खोज्न थाले । नियमित पठनपाठन गराइरहँदा पनि विद्यार्थी किन घटिरहेका छन् ? उनले आफैंलाई प्रश्न गरे ।

विद्यालय छाडेका विद्यार्थीका अभिभावकलाई भेट्दा ‘अंग्रेजी माध्यम नहुनु’ कारण रहेको पत्ता लाग्यो । अभिभावकको जवाफबारे प्रधानाध्यापक भट्टराईले भने, ‘उहाँहरूले तपाईंहरू कहाँ अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैन, त्यही भएर बोर्डिङ स्कूलतिर छोराछोरी लगेको जवाफ दिनुभयो ।’ अभिभावकको जवाफ सुनेपछि आफूलाई चुनौती थपिएको उनले सम्झिए ।

विद्यार्थी बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गर्नुपर्ने निष्कर्षमा पुगेको उनले सम्झिए । ‘पठनपाठन शुरू गर्नका लागि जिल्ला शिक्षा कार्यालयका कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारीसँग छलफल गरे, अन्य सरोकारवाला व्यक्तिलाई पनि बोलाएर छलफल गर्दा सबैले राम्रो प्रस्ताव हो भन्नुभयो तर अब विद्यार्थी कहाँबाट ल्याउने भनेर सोध्दा मैले शुरूमै तपाईं–हाम्रा छोराछोरीलाई यहीबाट पठनपाठन गराउनुपर्छ भने, उहाँहरू कन्भिन्स हुनुभयो ।’

अंग्रेजी माध्यमबाट पठनपाठन शुरू नगरिए विद्यालय नै रहँदैन भन्ने निष्कर्षमा पुगेपछि अंग्रेजी माध्यम शुरू गरिएको उनले सम्झिए । ‘सरोकारवालाहरूलाई बोलाएर विद्यालयको अवस्था जानकारी गराएँ र अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने जानकारी गराएको थिएँ,’ उनले भने, ‘सबै जनाले हौसला दिँदै ठीक निर्णय गर्नुभयो भन्नुभयो ।’

२०७० सालदेखि अंग्रेजी माध्यममा पढाउन थालिएको उनले बताए । २०७० सालमा ८–१० गरी ३ वटा कक्षामा अंग्रेजी माध्यमका विद्यार्थी भर्ना गरिएको उनले बताए । ९२ जना विद्यार्थीबाट अंग्रेजी माध्यमको पठनपाठन शुरू गरेको उनले बताए । पहिलो वर्ष बोर्डिङ पढेर आएका विद्यार्थीले मात्रै अंग्रेजी माध्यम पढेको उनले बताए । २०७१ सालमा ६ कक्षादेखि पठनपाठन गराउन शुरू गरिएको उनले बताए । अहिले ८–१० कक्षामा अंग्रेजी र नेपाल्ी दुवै माध्यममा पठनपाठन भइरहेको छ । अन्य कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको उनले बताए ।

भौतिक संरचना अभाव हुँदा २०७३ सालदेखि विद्यार्थी धान्न समस्या भएको उनले बताए । ‘जम्मा १५ वटा कोठा थिए टिनको छाना भएका,’ उनले भने, ‘गर्मीमा टिन तातेर पढाउन नहुने, जाडोमा चिसो भएर विद्यार्थीलाई समस्या हुने ।’ विभिन्न संघसंस्था तथा अभिभावकको सहयोगबाट विद्यालयको संरचना बनाएको उनले सम्झिए । शिक्षकका आफ्नै छोराछोरी समेत सामुदायिक विद्यालयमा नै पढ्ने भएपछि शिक्षकले खोजी र अध्ययन गरेर पढाउँदा अभिभावक र विद्यार्थीको आकर्षण ह्वात्तै बढेको उनले बताए । 

हाल पोखरीया माविमा २ हजार ९०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मोरङका मात्रै होइन, धनकुटा, तेह्रथुम, सिराहा, सप्तरी, उदयपुर तथा खोटाङदेखि विद्यार्थी पढ्न आउने गरेका छन् । विद्यार्थीको चाप बढेपछि प्रवेश परीक्षा गरेर मात्रै भर्ना लिने गरिएको छ ।

विद्यार्थीको आकर्षण बढी भएर प्रवेश परीक्षामा पास गरिदिन राजनीतिक दबाब समेत आउने गरेको प्रधानाध्यापक भट्टराई बताउँछन् । ‘नेताहरूले फोन गरेर एडमिसन गरिदिनुपर्‍यो भन्नुहुन्छ, कोटा सकियो भन्दा तपाईंलाई जागिर मागेको होइन नि ! एउटा विद्यार्थी पढाइदिनुहोस् भनेको भनेर समेत भन्ने गरेका छन्,’ उनले भने, ‘मेयरदेखि प्रदेश प्रमुखसम्मको फोन आउने गर्छ । ४ कक्षामा १ जना विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्न सकेनन्, उहाँहरूले तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई भन्नुभएको रहेछ, उहाँले मलाई फोन गर्नुभयो तर उहाँले भर्ना गरिदिनू भन्नुभएन, तपाईंको विद्यालयको राम्रो नाम चलेको रहेछ, धन्यवाद मात्रै भन्नुभयो ।’

विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुली, प्रदेश सरकारका मन्त्रीले समेत फोन गर्ने गरेको उनले बताए । पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले भर्नाका लागि फोन गरेको उनले सम्झिए ।

कोरोना महामारीको समयमा समेत वैकल्पिक विधिबाट पठनपाठन गरिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्