२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

राजावादीदेखि गणतन्त्रवादीसम्म : देशभर चुनावमय माहोल

मंसिर १९, २०७८
राजावादीदेखि गणतन्त्रवादीसम्म : देशभर चुनावमय माहोल

आज मिति २०७८ साल मंसिर महिनाको १९ गते आइतबार ।  ‘लोकान्तर राउण्ड अप’ मा हामी पछिल्लो २४ घण्टामा देशभर भएका मुख्यमुख्य घटनाक्रम लिएर उपस्थित भएका छौँ । साथै देशभर राजनीतिक पार्टीहरुको अधिवेशन तथा महाधिवेशनले माहोल चुनावमय भएको विषयलाई पनि समेट्ने प्रयास गरेका छौँ ।

मंसिर महिना राजनीतिक पार्टीहरुको महाधिवेशनको महिना बनेको छ । राजावादी पार्टी राप्रपादेखि गणतन्त्रवादी पार्टीहरु काँग्रेस र एमालेको महाधिवेशन मंसिर महिनाकै लागि तय गरियो । जसमध्ये उमालेले चितवनमा अघिल्लो साता नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गरेको छ भने राप्रपाको मंसिर १५ देखि काठमाडौंमा जारी छ । राप्रपाको गएरातिसम्म मतदान भएको थियो भने अबको केहीघण्टामा सो पार्टीको सम्पूर्ण मतपरिणाम आउने विश्वास गरिएको छ । राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गरेका छन् ।

यसैगरी मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशनको मिति तय गरेको काँग्रेसले तल्लो तहको अधिवेशन अन्तिम चरणमा पुर्याएको छ । जसअनुसार मंसिर १७ देखि देशभर प्रदेश अधिवेशन थालेको काँग्रेसको यो समाचार तयार पर्दासम्म विभिन्न प्रदेशमा नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ भने प्रदेश २ को हकमा भने मतदान हुन बाँकी छ । काँग्रेसको प्रदेश नेतृत्वमा कसले बाजी मार्ला भन्ने आम चासो छ ।

समग्रमा भन्दा अहिले देश नै चुनावमय भएको छ भने राजावादीदेखि गणतन्त्रवादी पार्टीसम्मको नयाँ नेतृत्व चयन भएको÷हुँदै गर्दा नेतृत्वबारे चासो हुनु स्वभाविकै हो । अघिल्लो साता भएको चुनावमा एमालेमा केपी ओली अध्यक्ष चयन भएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

उसो त संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । पछिल्लो समय सुस्ताएको राजनीतिक पार्टीहरुको गतिविधि अधिवेशन÷महाधिवेशनले चलायमान भएको छ ।

अब समाचार संक्षेपमाः
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।
००००
नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले वर्तमान सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको दावी गरेका छन् ।
रूपन्देहीको भैरहवामा शनिबार माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर सम्मेलन बोल्दै महराले संविधानलाई मिचेर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर गठबन्धन फुटाउन खोजेको बताए ।
००००
एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भए लगत्तै नेताहरू स्थायी कमिटीको लबिङमा जुटेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र समापन नहुँदै केन्द्रीय कमिटीको दोस्रो बैठकको मिति तोकेर एजेण्डा समेत बताएका थिए । मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दैछ ।
0000
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको पार्टीलाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने दावी गरेका छन् ।
नेकपा एस अर्घाखाँचीको कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान विपरीत दुई दुई पटक संसदको विघटन गर्ने ओलीलाई जनताले निर्वाचनबाट देखाइदिने बताए ।
००००
राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले नयाँ नेतृत्वको दौडमा रहेका राजेन्द्र लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएका छन् । लिङ्देन पक्षले राणाको समर्थन आफूहरुलाई रहेको भन्दै प्रचार गरेपछि उनले यस्तो बताएका हुन् ।
राणाले हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै कुतत्वल फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोस्ट गरेको देखेँ । यो सरासर झुट हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छु ।’
००००
पछिल्लो २४ घन्टामा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार ६ हजार ७ सय ९७ जनामा नमुना परीक्षण गर्दा २ सय ३८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि हुनेहरूको संख्या ८ लाख २२ हजार ३९२ पुगेको छ भने एन्टिजेन परीक्षणबाट ९५ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
००००
विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी बीच एकता भएको छ ।
एकीकरण पछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र चुनाव चिन्ह तराजु हुने सहमती भएको एकीकरणपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विवेकशीलले शनिबार राजधानीमा आमसभा समेत गरेको थियो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर यहाँको विकास देखेको टिप्पणी गरेका छन् । उनले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको पनि बताए । शनिबार नारायणी नदी किनारमा पैदल मार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । शनिबार प्रचण्ड प्रेस सेन्टरसहित चितवनमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्