
भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको स्थानमा बहालवाला सेनाप्रमुख एमएम नरवणेलाई राख्न सकिने बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार स्थानीय समयअनुसार साढे ६ बजे सुरक्षा मामिलाको क्याबिनेट कमिटीको बैठक गरे । त्यसमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र कमिटीका अन्य सदस्य उपस्थित थिए ।
बैठकमा रावतको स्थानमा आउने नयाँ सीडीएसको बारेमा चर्चा भएको छ । वरिष्ठताको हिसाबमा जनरल एमएम नरवणेको दाबी बलियो देखिन्छ र उनैलाई नयाँ सीडीएस बनाउन सकिन्छ ।
जनरल नरवणेले जनरल रावतलाई उनको दूरदर्शी सोच र दीर्घकालिका परिणामयुक्त सैन्य सुधारका लागि सधैं सम्झिने बताए । जनरल रावतले सशस्त्र सेनाहरूमा संयुक्त थिएटर कमान्डको अवधारणा र त्यसको आधारशिला राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।