२१ जेठ २०८३, बिहीबार

कांग्रेस महाधिवेशन– प्रदेश १ बाट सभापतिदेखि महामन्त्रीसम्मका आकांक्षी

मंसिर २३, २०७८
कांग्रेस महाधिवेशन– प्रदेश १ बाट सभापतिदेखि महामन्त्रीसम्मका आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यतिबेला आम चासोको विषय बनेको छ । १ नम्बर प्रदेश अधिवेशनको नतिजाले कांग्रेसमा झन् चासो थपेको छ ।

प्रदेश सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजय भोगेपछि कांग्रेस कार्यकर्ताबीच अनेकौं टीकाटिप्पणी हुन थालेका छन् ।

डा. शेखर कोइरालानिकट मानिएका घिमिरेले पराजय भोगेपछि मिश्रित टिप्पणी सामाजिक सञ्जालमा आइरहेका छन् तर पराजय भोगेका घिमिरेले प्रदेशको अधिवेशनले केन्द्रमा असर नपार्ने बताएका छन् ।

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘प्रदेश र केन्द्रमा फरक हो, जिल्लामा भएको समीकरण प्रदेशमा आउँदा फरक भएको छ, प्रदेशमा भएको समीकरण केन्द्रमा पुग्दा फरक हुन्छ ।’

एउटै व्यक्तिलाई पटक–पटक एउटै पदमा उठाउनु हुँदैन भनेर कार्यकर्ता लागेका उनले बताए । 

१ नम्बर प्रदेशमा पदाधिकारीका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । १ नम्बर प्रदेशबाट सभापतिमा शेखर कोइराला आकांक्षी देखिएका छन् । 

नेता महेश आचार्यले उपसभापतिमा लड्ने घोषणा गरेका छन् । पुस्तान्तरणको कुरा उठाउने नेता आचार्यले आफैं पदका लागि मरिहत्ते गर्ने गरेको आरोप छ ।

नेता आचार्यमाथि गुरुराज घिमिरेलाई हराएको आरोप समेत लागेको छ । 

संस्थापन पक्षबाट १ नम्बर प्रदेशमा महामन्त्रीका १ जना आकांक्षी देखिएका छन् । संस्थापनका केन्द्रीय सदस्यले महामन्त्रीको कार्ड फ्याकेका छन् ।

झापाका विश्वप्रकाश शर्माले महामन्त्रीको तयारी गरेका छन् । शर्मा पार्टीको प्रवक्ता समेत छन् । संस्थापनबाट तेह्रथुमकी सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

संस्थापनइतर पक्षका नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजाल पनि महामन्त्रीका आकांक्षी रहेका छन् । पाँचथरका भीष्मराज आङ्देम्बेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनी कांग्रेस अनुशासन समितिका संयोजक समेत छन् ।

पदीय आकांक्षा घोषणा गरेकाहरूले सामाजिक सञ्जालमा कार्यकर्तालाई  प्रचार गर्न लगाइरहेका छन् । नेतृत्वलाई दबाब दिन समेत सामाजिक सञ्जालमा प्रचारप्रसारलाई तीब्र पारिएको छ ।

तेस्रो धारमा देखिएका कृष्णप्रसाद सिटौलाले आफ्ना पक्षका नेतालाई पदाधिकारीमा जिताउन सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न पदहरू बार्गेनिङ गरिरहेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्