
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०७७’ मानव अधिकार र सामाजिक न्यायका लागि उल्लेखनीय योगदानका लागि उमादेवी वादीलाई प्रदान गरिएको छ ।
७३औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा २०७८ मंसिर २३ गते शान्ति समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले वादीलाई १ लाख १० हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मानव अधिकार, सामाजिक न्यायका लागि योद्धा उमादेवी वादीले निर्वाह गरेको विशिष्ट भूमिकाको चर्चा गरेका थिए ।
शान्ति समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्व सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी वादी, १ नम्बर प्रदेशका सांसद एवं पूर्व मन्त्री उषाकला राई, शान्ति समाजका पूर्व सभापतिहरू होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी र पूर्व उपसभापति रेनुका पौडेलले पुरस्कार सन्दर्भ र सामाजिक न्यायको आन्दोलनमा शान्ति समाजको भूमिकाबारे प्रकाश पारेका थिए ।
२०७६ सालमा स्थापित पुरस्कार गत वर्ष पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको थियो ।