जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका २ नाबालकसहित ४ जनालाई भारतबाट उद्धार गरेको छ ।
झापाबाट झण्डै २ वर्षअघि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया २ युवतीको प्रहरीले उद्धार गरेको हो ।
२ वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको बिहार राज्यस्थित छौंडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्टस्सँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन कसूरमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।