
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार नेपाली कांग्रेसको महाधिवेशनमा सम्बोधन गर्दागर्दै साउन्ड सिस्टममा समस्या आएपछि बीचमै रोकिनुपरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेपछि ओलीको पालो आएको थियो ।
सम्बोधनका क्रममा ओलीले प्रचण्डले कांग्रेससँग एक्लै नभई सँगसँगै हिँड्नुपर्ने प्रस्ताव गरेका थिए ।
त्यसतर्फ इंगित गर्दै ओलीले ‘देश बनाउन सँगै जाने कि सरकार बनाउन’ भन्ने प्रश्न गरे ।
देश बनाउने कुरामा आफूहरू सबै सँगै रहेको उनको भनाइ थियो ।
‘देश बनाउने कुरामा सँगै छौं । के हामी लोकतन्त्रका लागि लडेका छैनौं ? सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता होला ...!’ ओलीले यति भन्दै गर्दा माइक बिग्रियो ।
एकैछिन ओली पोडियममै उभिए । माइकमा लाइन नआएपछि ‘कांग्रेसलाई महाधिवेशनको शुभकामना छ, देउवाजीलाई छाडदिएँ भन्दै ओली कुर्सीमा बसेका थिए ।
त्यसपछि कांग्रेस महाधिवेशनको उद्घोषण गरिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीले विचार व्यक्त गरिरहँदा प्राविधिक समस्या आएको भन्दै पुनः सम्बोधन गर्न समय दिए ।
दोस्रोपटक पोडियममा पुगेका ओलीले एक मिनेटभन्दा बढी बोलेनन् ।
‘अरूका नीतिमा होइन, कांग्रेसले आफ्नो नीतिमा अरूलाई हिँडाउन सकोस् । प्रधानमन्त्री मात्र होइन, शेरबहादुरजी सरकारको नेता बन्नुहोस्,’ ओलीले भने ।
कांग्रेसको चौधौं महाधिवेशन भव्य सफल होस् भन्दै ओलीले मन्तव्य टुंगाए ।
शुरूमै आफ्नो मन्तव्य लामो नहुने संकेत गरेका ओलीले भनेका थिए– ‘घाम नअस्ताउँदै देउवाजीलाई छाड्छु ।’
भने अनुसार नै उनी छोटो मन्तव्य टुंग्याएर कुर्सीमा फर्किए ।