
लामो समयदेखि एकअर्काको चर्काे आलोचना गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार एकै मञ्चमा देखिए । भेटको अवसर जुरायो नेपाली कांग्रेसको १४औं महाधिवेशनले ।
गत वर्षको पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपाका ३ शीर्ष नेताहरू पहिलोपटक सार्वजनिक मञ्चमा एकै ठाउँमा देखिएका थिएनन् । ओली, प्रचण्ड र माधवकुमार नेपाल शुक्रवार एकै मञ्चमा देखिएका हुन् ।
कांग्रेसले मञ्च व्यवस्थापनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको दायाँपट्टि प्रचण्ड र माधव नेपाल तथा बायाँपट्टि ओलीलाई राख्यो ।
बीचमा देउवा भए पनि ओली र प्रचण्डले हँसिलो मुद्रामा आपसमा केही कुराकानी गरेको देखिने तस्वीर बाहिरिएको छ । तस्वीरमा दुवै जना हाँसेका देखिएका छन् ।
राजनीतिक रूपमा चर्काे विरोधमा उत्रिने गरेपनि सामुन्नेमै भेट हुँदा ओली–प्रचण्डले हँसिलो मुद्रामा हँसीमजाक गरेको शुक्रवारको कार्यक्रममा देखिएको छ ।