
उम्मेदवारी दर्ताको समय नजिकिँदै गएपनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्ष अझै सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न असफल भएको छ । सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेपनि सहमति भने जुट्न नसकेको हो । खासगरी सभापतिका दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् ।
नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनावी कार्यक्रममा उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यस्तै उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने तय भएको छ ।