२६ जेठ २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

नेतृत्व चयनका लागि कांग्रेसमा आज मनोनयन दर्ता, पौडेल पक्ष उम्मेदवारविहीन

मंसिर २५, २०७८
नेतृत्व चयनका लागि कांग्रेसमा आज मनोनयन दर्ता, पौडेल पक्ष उम्मेदवारविहीन

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । कांग्रेस निर्वाचन समितिले चुनावका जानका लागि महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली सूची प्रकाशित गरिसकेको छ भने शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय राखेको छ । यस्तै उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

यसैगरी उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्ष अझै उम्मेदवारविहीन रहेको छ । पौडेल पक्षमा प्रकाशमान सिंह र डा शेखर कोइरालाले आफ्नो दावी नछाडेपनि सहमति हुन नसकेको हो । आज पनि पौडेल पक्ष बिहानैदेखि छलफलमा रहने बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको थियो भने उद्घाटनसत्र सकिएलगत्तै बन्दसत्र गरिएको थियो  ।

बन्दसत्रबाट महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसैगरी बन्द सत्रबाट १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्वन गर्ने निर्णय अनुमोदन भएको छ ।

कांग्रेस महाधिवेशनमा जम्मा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्