२२ जेठ २०८३, शुक्रबार

कस्तो छ कांग्रेसका महाधिवेशन प्रतिनिधिको मनस्थिति ?

मंसिर २५, २०७८
कस्तो छ कांग्रेसका महाधिवेशन प्रतिनिधिको मनस्थिति ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूले संगठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको १४औं महाधिवेशनको उद्घाटन क्रममा  शुक्रवार भेटिएका धनुषा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१औं शताब्दीमा समयसँगै पार्टीभित्र पनि रूपान्तरणको खाँचो रहेको बताउँछन् । 

यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रूपान्तरण रहेको छ । कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो ? यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ ।

‘कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर्न सक्दा पार्टीले बहुमतको सरकार बनाउन सकेको इतिहास छ, हिमाल, पहाड र तराई जोड्ने नेतृत्व कांग्रेसभित्र आवश्यक छ,’ सिंह भन्छन् ।

नेपाली कांग्रेस लमजुङका महाधिवेशन प्रतिनिधि अस्मिता गुरुङ पार्टीभित्र युवा र महिलाहरु अगाडि आउनुपर्ने बताउँछिन् । ‘पार्टीभित्र पुस्तान्तरण भयो भने पार्टी झन् सबल र सक्षम बन्न सक्छ,’ उनी भन्छिन् ।  बागलुङ क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि उनी पार्टीभित्र आम एकताको खाँचो रहेको बताउँछिन् । ‘पुराना नेताहरू सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरे पार्टी थप सवल र सक्षम बन्न सक्छ,’ उनी भन्छिन् । शीर्ष नेताको सहमति विना नयाँ नेतृत्व आउँदा पार्टी कमजोर हुने उनको भनाइ थियो ।

कास्की क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री देशलाई आधुनिक समाज र पुस्ताले चाहे जसरी अगाडि बढाउन सक्ने विचार, नीति र कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताउँछन् । ‘उमेरले भन्दा पनि समयसापेक्ष विचार, नीति र कार्यक्रमबाट संगठनलाई सुदृढ बनाउँदै पार्टी मात्र होइन देश रूपान्तरणको नेतृत्व अहिलेको आवश्यकता हो,’ क्षेत्री भन्छन् । 

कांग्रेस चितवनका सचिव एवं महाधिवेशन प्रतिनिधि उत्तम जोशी कांग्रेसभित्र देशभरि युवा प्रतिनिधि आएकाले अब पार्टीभित्र पुस्तान्तरणको खाँचो रहेको बताउँछन् । ‘अग्रजको सल्लाह र युवा र महिला दिदिबहिनीको साथ लिएर पार्टीलाई रूपान्तरण गर्नु आजको आवश्यकता हो,’ उनी भन्छन् । राजनीतिमा युवालाई आकर्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । देश विकासका लागि नयाँ नेतृत्व, नयाँ सोच, नयाँ शैलीबाट कांग्रेसलाई अगाडि बढाउनुपर्ने जोशी बताउँछन् । – अच्युत रेग्मी/रासस
 

salt training

कमेन्ट गर्नुहोस्