
नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।
पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्यसमध्ये पौडेल र शशांक सभापतिको दौडबाट ब्याक हुँदै शेखर र प्रकाशमानलाई मिल्न आग्रह गरिएपनि त्यो सफल हुन सकेन । शनिबार दुबै नेताले सभापतिमा उम्मेदवारी दर्ता गराएसँगै पौडेल समूहभित्रकै समीकरण बदलिनुका साथै छिन्नभिन्न भएको हो ।
शेखरले प्यानलसहित उम्मेदवारी दिएका छन् भने प्रकाशमानले उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई समेटेका छन् ।
यता पौडेल भने १४ औं महाधिवेशनबाट राजनीतिक सक्रियताबाट टाढिन लागेको टिप्पणी हुन थालेको छ । उनले महाधिवेशनमा केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन् । उसो त पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।
आफ्नो समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल निराश बनेका छन् । शनिबार एक विज्ञप्तिमार्फत पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग भए पनि गलत प्रवृत्तिविरुद्ध लडिरहने बताएका छन् ।
‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ,’ उनले भनेका छन्, ‘प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’
उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको बताए । काँग्रेसमा पौडेल समूहमा आएको विभाजनसम्बन्धी समाचारसहित लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ ।
थप समाचार
नेपाली काँग्रेसको महाधिवेशनमा युवा नेताहरु महामन्त्री पदमा आमनेसामने भएका छन् । नेताहरु प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा एकापसमा भिड्न लागेका हुन् । थापा शेखर प्यानल, शर्मा प्रकाशमान प्यानल र प्रदीप देउवा प्यानलबाट महामन्त्रीको दौडमा रहेका छन् । काँग्रेस निर्वाचनमा महामन्त्री पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा २ जनामात्रै निर्वाचित हुनेछन् ।
००००
यसैगरी काँग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो । जसमा देउवा र शेखरको पूर्ण प्यानल रहेको छ ।
००००
शनिबार भएको मनोनयन दर्तामा कांग्रेसमा १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेका छ ।
जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुनेछ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको आइतबार भएको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । अध्यक्ष दाहालले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।’ प्रदेश सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीले क्रान्तिकारी धार छाडेर राजावादीसँगको साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् ।
ओली कम्युनिस्ट धारबाट स्खलित भएको उनले बताए । नेकपा एकीकृत समाजवादी रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए ।
००००
एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
००००
पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ नमूना परीक्षणमध्ये १९४ पीसीआर र ४२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप ३०७ जना संक्रमणमुक्त भएका छन् ।