
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भावी सभापतिमा सहज जीत हासिल हुने पार्टी संस्थापन पक्षले विश्लेषण गरेको छ । आइतवार साँझसम्मको विश्लेषणका आधारमा सोमवार हुने मतदानबाट पहिलो चरणमै शेरबहादुर देउवाले सभापति जित्ने निष्कर्षमा सो समूह पुगेको छ ।
संस्थापन पक्षका एक प्रभावशाली नेताले देउवाको पक्षमा व्यापक माहौल बनेको बताए । ‘देउवाले सभापति जित्नेमा आशंका रहेन, सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आउँदैन’ ती नेताले भने ।
संस्थापन इतर पक्षमा देखिएको विभाजनका कारण सभापतिमा देउवालाई दोहोरिन सहज हुने संस्थापन पक्षको विश्लेषण छ । संस्थापन इतरको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट अलग हुनुले विपक्षी समूह कमजोर बनेको देउवा पक्षको विश्लेषण छ ।
नेपाली कांग्रेसमा लामो योगदान गरेका रामचन्द्र पौडेलले आफ्नै समूहबाट चित्त दुखाएर बस्नुपर्ने अवस्थाले पौडेललाई अपमान गरेको ठान्ने कार्यकर्ताले देउवालाई मतदान गर्ने संस्थापन पक्षको बुझाइ छ ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र डा. शशांक कोइराला खुलेर नलाग्नुले पनि आफूहरुलाई फाइदा हुने देउवा समूहको विश्लेषण छ । ‘अघिल्लो महाधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएका र अहिले सभापतिको स्वभाविक दावेदार शशांकले आफूलाई योजनाबद्ध ढंगले पाखा लगाइएको निश्कर्ष साथ शेखर कोइरालाको प्यानललाई समर्थन नगर्दा देउवालाई फाइदा पुगेको छ’ देउवाको कोर टीमका एक सदस्यले भने ।
सभापतिमा उम्मेदवारी दर्ता गरेका विमलेन्द्र निधिको पक्षमा कुनै माहौल बन्न नसक्दा आफूहरुलाई फाइदा भएको देउवा समूहको विश्लेषण छ । ‘विमलेन्द्र निधि हाम्रो लागि चुनौती बन्नु भएन, सभापतिमा १ सय भोट कटाउने सम्भावना देखिएको छैन, उहाँबाट हामीले कुनै थ्रेट महसुश गरेका छैनौं’ देउवा समूहका ती नेताले भने ।
देउवा सभापतिमा हार्दा अहिलेको गठबन्धन ढल्ने र सत्ता फेरि कम्युनिस्टहरु कै हातमा पुग्ने संशयका कारण पनि प्रतिनिधिले देउवालाई रोज्ने यो समूहको विश्लेषण छ ।
‘आफूले कांग्रेस सभापति हारे गठबन्धन ढल्ने खतरा रहेको देउवाले बताउनु भएको छ, केन्द्रमा सरकार ढल्दा प्रदेशका सरकार पनि ढल्ने र कांग्रेस नेतृत्वको सरकारले चुनाव गराउने अवसर गुम्ने भएकोले प्रतिनिधिले देउवाको विकल्प रोज्दैनन् भन्ने हाम्रो विश्वास छ’ आफूहरुको जीतको दावी बारे देउवा पक्षीय ती नेताले भने ।
१३ औं महाधिवेशनमा आफूलाई सघाएका कृष्ण सिटौलाले खुलेरै देउवाको पक्षमा भोट मागेकाले सभापति जित्नको लागि दोस्रो चरणमा जानु नपर्ने उनीहरुको विश्लेषण छ ।
‘नेतृत्वमा युवा पुस्ताको नारा लगाउनेका लागि प्रदीप पौडेलको उम्मेदवारीले हाम्रो टीम समावेशी र पुस्तान्तरणको नमुना बनेको छ, त्यसैले पनि हाम्रो जीत सुनिश्चित छ’ ती नेताले भने ।
कांग्रेस सभापतिका लागि महाधिवेशन प्रतिनिधिको ५१ प्रतिशत भोट ल्याउनु पर्ने व्यबस्था छ । नेपाली कांग्रेसको महाधिवेशनमा ४ हजार ७ सय ४३ सदस्य छन् । पहिलो चरणमा कसैले ५१ प्रतिशत नल्याए सभापतिको लागि दोस्रो चरणको मतदान गर्नु पर्ने हुन्छ ।