२५ असार २०८३, बिहीबार

सञ्चालनमा आयो मोतीपुर सबस्टेसन, विद्युत आपूर्तिमा सुधार हुने

मंसिर २७, २०७८
सञ्चालनमा आयो मोतीपुर सबस्टेसन, विद्युत आपूर्तिमा सुधार हुने

नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । 

पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । 

सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरूलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । 

मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत आपूर्तिका लागि क्रमशः  ३३ केभी र ११ केभी  फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको हो । 

यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायतका समस्या थियो । अब मोतीपुर सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने प्राधिकरणले जनाएको छ । 

सालझण्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुने प्राधिकरणको दाबी छ । 

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेसनलाई आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । 

आयोजनाअन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्ड प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टांगिएको छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । 

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बागलुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । 

आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बागलुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करीब ३ अर्ब रूपैयाँ छ । आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्