३० जेठ २०८३, शनिबार

माघबाट सुख्खा बन्दरगाह र आइसीपीको काम अनलाइनबाटै

मंसिर २८, २०७८
माघबाट सुख्खा बन्दरगाह र आइसीपीको काम अनलाइनबाटै

माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा शुरू हुने भएको छ ।

विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गते देखि लागू गरिने बताए ।

शनिबार विरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताए । भन्सार प्रमुख पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको बताए ।

अब कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिहरुको प्रयोग बढाउँदै जानु पर्नेमा जोड दिए । आइसिपी,बन्दरगाह भन्सार कार्यालयमा कागज तथा नगद रहित बनाउँदा व्यवसायीको समय र खर्च पनि कम गर्ने बताए ।

प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘बन्दरगाह र आइसिपी दुबै कार्यालयलाई माघ १ गतेसम्म कागज र नगद रहित कार्यालय घोषणा गर्ने तयारी भएको छ । आइसिपीमा व्यवसायीले विदेशबाट आयात गरेर ल्याएका सामानको चेक जाँच एकद्वावर प्रणालीमा लागू भएको छ। सरकारले भन्सार प्रणालीलाई कागज र नगद रहित अनलाइन प्रणाली लागू गर्ने घोषणा गरेको छ । तर, अहिलेसम्म सबै काम अनलाइन हुन सकेको छैन्। केही अनलाइन प्रणाली शुरू भए पनि सबै कागज र नगद रहित काम हुन बाँकी छ । प्रतिशतको हिसावका यति प्रतिशत कागज रहित भयो भन्ने स्थिति रहेको छैन्। प्रणाली लागू गर्नको लागि सम्पूर्ण पूर्वाधारहरु तयारी पुरा भएको छ । त्यस्तै, आइसिपी स्थापना भएसँगै व्यवसायीहरुलाई सजिलो भएको छ । विदेशबाट आयात गरिएको सामान छोटो समयमा नै बजारमा पुग्ने, खर्च अर्थात लागत कम हुदै गएको छ । अझ पूर्ण रुपमा अनलाइन प्रणाली लागूभए पछि व्यवसायी र सरकार दुबैलाई राम्रो हुन्छ ।’

पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको बताए ।

उनले भन्सारमा विदेशबाट आएका समान तथा ट्रक/कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको बताए । चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा मेसिन प्रयोग विहिन भएर बसेको पौडेलले बताए ।

भारतबाट आएका समान तथा ट्रक स्क्यान गर्ने समस्या रहेको भन्दै पौडेलले मेसिन चलाउने प्राविधिकको अभावको कारण भौतिक रुपमै कन्टेनरहरुको समान अनुमानित गर्नु पर्ने, भन्सारमा कन्टेनरहरु थुप्रिएर बस्ने,जाम हुने गरेको बताए । बिग्रिएको मेसिन बनाउने प्राविधिक भारत तथा चीनबाट नै ल्याउनु पर्ने भएकाले छिटो छरितो ढंगले काम हुन नसकेको बताए ।

प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘ प्राप्त भौतिक पूर्वाधार तथा प्राविधिकको कमिको कारण भन्सारमा आएका कन्टेनरको सामान समयमा पास गर्न सकिएको छैन । १६ सय भन्दा बढी भेहिकल आउने गरेका छन्। तर, ती भेहिकल व्यवस्थापन गर्न समस्या भएको छ । भारतबाट आएका कन्टेनरहरु व्यवस्थापन गर्ने स्क्यान मेसिन प्राप्तता छैनन् भएको स्क्यान मेसिन पनि प्राविधिक अभावका कारण प्रयोग गर्न सिकएको छैन । जुन बेला नेपालको भन्सार कार्यालयमा अनुदानमा स्क्यान मेसिन ल्याइयो त्यतिवेलामा चीनले नेपालका प्राविधिकलाई मेसिन चलाउन सिकाइदिएनन्,मेसिन चलाउँन नसिकाइदिएपछि नेपालका दुई जना प्राविधिकलाई स्क्यान प्रविधिबारे अध्यन गर्न पठाइयो तर ती दुई मध्ये एक जना रिटायर भए अर्को जनाको सरुवा हुनुभयो । यस्तो अवस्था सिर्जना भएपछि मेसिन १० वर्ष देखि थन्किएर बसेको छ । स्क्यान मेसिनको धेरै चर्चा र खोजी हुने भएपनि सरकारले खासै चासो देखाएको छैन।  भन्सार विभागले स्क्यान मेसिन नभएको भन्ने गुनासो मन्त्री कहाँ पुगेको छ। मन्त्रीले ज्यूले तीन महिना भित्र स्क्यान नेपाल ल्याउने निर्देशन दिनुभएको छ । तर, नेपालमा नयाँ मेसिन ल्याएर चलाउन पनि २५ मिलियन डलर पर्ने देखिन्छ । नेपालको भन्सारमा कुनै पनिस्क्यान मेसिन छैन भन्दा लाज लाग्ने अवस्था भएको छ।’

त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका विरगञ्ज प्रमुख कमल ज्ञवालीले आइसिपीमा सञ्चालन र व्यवस्थापन गर्ने गरिरहेको बताए ।

उनले आइसिपी सञ्चालनले मुख्य उदेश्य समय र लागतलाई कमि गरी समयलाई सहजीकरण गर्ने भएको बताए । यसले पछिल्लो समय व्यवसायीलाई धेरै सहज भइरहेको बताए । समितिले भारतबाट आयात भएको सवारीहरूको व्यवस्थापन गर्ने र गाडीको रुजु गर्ने काम गर्ने गरेको बताए ।

उनले भने,‘आइसिपी सञ्चालन गरेसँगै व्यवसायीले विदेशबाट आयात गरेको सामान भन्सार लगायतका काम एकै स्थानबाट हुने व्यवस्थापन गरिएको हो । आइसिपीले समय र लागतलाई कम गरी समयलाई सहजीकरण गर्ने गरेको छ । सहजिकरणको लागि आइसिपीमा १० वटा लेन रहेको छन्। त्यही अनुसार समितिले गाडीको व्यवस्थापन गर्ने गरेको छ । त्यस्तै, आइसिपीले पनि विभिन्न पार्किङ, इन्ट्रि शुल्क गोदाम शुल्क शिर्षकमा राजश्व उठाउन गरेको छ।  चालु आर्थिक वर्षमा ११ करोड ९ लाख ५४ हजार ५३१ रुपैयाँ संकलन भएको छ।  गत वर्ष ३० करोड ६ लाख ४१ हजार १६ रुपैयाँ राजश्व संकलन गरिएको थियो। गत वर्ष २ लाख १७ हजार ७ सय ९९ आएको थियो।’

विरगञ्ज भन्सारले विदेशबाट आयात भएका सामानलाई नियमन गर्न ग्रिन, हेलो, ब्ल्यु र रेड लेन बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्