
सद्भावना, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै गत प्रतिनिधि सभामा सूर्य चिन्हबाट चुनाव लडेका हृदयेश त्रिपाठीले नयाँ राजनीतिक पार्टीको घोषणा गरेका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपाठीले जनता प्रगतिशील पार्टीको घोषणा गरेका हुन् । पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्वअर्थ सचिव रामेश्वर खनाललाई उपस्थित गराएर त्रिपाठीले पार्टी घोषणा गरेका हुन् ।
पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले अहिलेको संघीयता विकृत भएको टिप्पणी गरे । ‘अहिलेको संविधानले व्यवस्था गरेको संघीयता विकृत संघीयता हो, भौगोलिक पुनर्संरचना मात्र हो, राज्यको पुनर्संरचना हुन सकेको छैन,’ त्रिपाठीले भने । उनले जनताको अधिकारको लागि आफ्नो पार्टीले काम गर्ने बताए ।
पूर्व सभामुख ढुंगानाले वास्तविक नेताले पार्टी गठन गरेको भन्दै खुशी व्यक्त गरे । ‘त्रिपाठीजी खास नेता हो, उहाँले बल्ल पार्टी खोल्नु भएको छ, उहाँलाई शुभकामना,’ उनले भने ।