
स्मार्ट कार्ड नेपाल प्रा. लि. ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न माइपे वालेट सार्वजनिक गरेको छ ।
सर्वसाधारणलाई विद्युतीय भुक्तानीको बारेमा जानकारी दिँदै गाउँ गाउँमा डिजिटल भुक्तानी विस्तार गर्ने महत्वकांक्षी लक्ष्यका साथ माइपे वालेट संचालनमा ल्याएको माइपेले बताएको छ । वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नवीन र उत्कृष्ट सुविधाहरु यस वालेटबाट प्राप्त गर्न सकिनेछ ।
हाल माइपे सामान्य सेवाहरु सहित आफ्नो प्रणालीको स्थायित्व परीक्षण गरिरहेको छ । हाल मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरु रहेका छन् । त्यसबाहेक वालेटबाट टिभीको बिल भुक्तानी गर्न सकिन्छ । माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ ।
हाल वालेटमा उपलब्ध यी सेवाहरु पहिलो पटक प्रयोग गर्दा २५ प्रतिशत वा अधिकतम रु १०० रुपैयाँसम्म क्यासब्याक अफर पनि रहेको छ । आगामी दिनमा समेत विभिन्न उत्साहजनक अफरहरु ल्याउने माइपेले बताएको छ ।
झन्डै दुुई वर्षअघि कोभिडको संक्रमण विश्वव्यापी महामारीको रुप लिँदै नेपाल भित्रिएपछि नेपालमा डिजिटल कारोबारको संख्या ह्वात्तै बढेको थियो । भिडभाडमा जानु नपर्ने र घरबाटै सजिलै भुक्तानी गर्न सकिने भएकाले पनि डिजिटल भुक्तानी प्रति सर्वसाधारणको आकर्षण बढेको छ । यसैलाई मध्यनजर गर्दैै माइपे पनि सार्वजनिक भएको कम्पनीले जनाएको छ ।
हाल संचालनमा रहेको विद्युतीय भुक्तानी सेवा प्रदायकहरुको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शैलीलाई चिर्दै माइपेले ग्राहकहरुमाझ उनीहरुको आवश्यकता र दुःख बुझेर नवीनतम सेवा तथा सुविधाहरुको स्वाद दिने माइपेका सिईओ मनोज कुमार मेहताले बताए ।
‘बजारमा भइरहेका वालेटहरुले जस्तै काम गर्ने भए नयाँ वालेट किन चाहिन्थ्यो र’ मेहताले भने, ‘हामीले सर्वसाधारणलाई अति आवश्यक सेवाहरु डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका छौं ।’
‘अहिले हामीले परीक्षणका रुपमा केही विशेषताहरु मात्रै राखेर माइपे वालेट सार्वजनिक गरेका छौं, हाम्रो वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिकृया हेरेर छिट्टैनै हामी अति आवश्यक, सहज र नवीन सुविधाहरू सहितको पूर्ण रुपको वालेट सार्वजनिक गर्नेछौं,’ मेहताले बताए ।
उनका अनुसार माइपेमा भविष्यमा वालेटको परिभाषा नै बदल्ने गरी भुक्तानी सेवा मात्रै नभई अन्य अत्यावश्यक सेवाहरु थपिनेछन् ।