२२ जेठ २०८३, शुक्रबार

जथाभावी फोहोर फाल्नेमाथि अब सीसीटीभीबाट निगरानी

पुस २, २०७८
जथाभावी फोहोर फाल्नेमाथि अब सीसीटीभीबाट निगरानी

बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन ।

बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलका अनुसार १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै छ । 

यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौं उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने छ ।

पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुलसहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ । स्थानीय तह र प्रहरीसँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन शुरू भएको बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताए ।

भविष्यमा बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती (धोबी खोला), महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढ्ने उनले बताए । हाल यी नदीमा पनि सफाइका लागि ढल व्यवस्थापन कार्य भइरहेको छ । यो सफाइ अभियान जनचेतना अभिवृद्वि गर्ने सांकेतिक अभियान मात्र रहेको बताउँदै अर्यालले नदी किनारामा मानिसको सहज पहुँच नहटाउञ्जेल नदी सफा नहुने भएकोले नदीको पुलमा सीसीटीभी जडान गर्ने कार्य अगाडि बढाइएको हो ।

फोहोरका पोका नदीमा हुत्याउन नसकिने गरी तटमा हरियाली बागबगैंचा निर्माण गर्ने कार्य पनि थालिएको छ । उनी भन्छन्, ‘नदीबाट फोहोर टिप्ने र नदीमा फोहोर फाल्ने सरोवरी भएकोले नदी सफा हुन नसकेको हो ।’ मोटरसाइकल, साइकल र मोटरबाट आएका तथा प्रभातकालीन यात्रामा हिँडेकाले नदीमा एकाबिहानै फोहोर फाल्ने गरेको उनी बताउँछन् ।

सीसीटीभी अभियानका लागि समितिले स्थानीय तहको साथ खोजेको छ । प्रवक्ता अर्यालका अनुसार आर्थिक स्रोत स्थानीय तह र समितितर्फबाट हुनसक्छ भन्ने सोच समितिको रहेको छ । ‘फोहोर फाल्नेलाई दण्ड र कारबाही गर्ने अधिकार समितिलाई नभएको हुँदा स्थानीय तह यसमा संवेदनशील हुनु आवश्यक छ,’ उनी भन्छन् ।

बागमती सफाइ योजनाको शुरूआतसँगै २७ वर्षको अवधिमा १४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको प्रवक्ता अर्यालले जानकारी दिए ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले नदीलगायत सार्वजनिक स्थलमा फोहोर फाल्नेउपर मोबाइल फोनबाट फोटो खिचेर उजुरी दिन अनुरोध गरेका छन् । २७औं महानगरपालिका दिवसको सन्दर्भमा महानगर प्रहरीले शरीरमा धारण गर्ने ‘बडी ज्वाइन क्यामरा’ बुधवारदेखि जडान गरेर नगर प्रहरी फिल्डमा खटिएको उनले बताए ।

उनका अनुसार नगर प्रहरी महाशाखाको कक्षबाट यसमा खिचिएका फोटोको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यस्ता निकै उजुरीमाथि दण्ड जरिवाना कारबाही गरिएको छ तर कारबाहीका लागि स्थानीय तहलाई गरिएको अनुरोधको बेवास्ता भएको गुनासो कार्यकारिणी सदस्य डा. खरेलको छ ।

बागमती नदीसँग थापाथलीमा निकास जोडिने इच्छुमती (टुकुचा) बाट निकै फोहोर बागमतीको थापाथली खण्डमा पुगिरहेको उनी बताउँछन् । टुकुचा फोहोर गर्ने घरवालाको पहिचान भइसकेको हुँदा कारबाहीका लागि लेखी पठाउने तयारी भएको बताउँदै प्रवक्ता अर्यालले सीसीटीभीका साथै नदी छेउका बाटो किनारामा फोहोर राख्ने भाँडो पनि राखिने बताए । गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्