काठमाडौं, १७ पुस-सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको छ । जवाफ नै नआएकाले छिमेकी मुलुकमा भएको आफ्नो मुद्रा संकलित गर्न भारत तयार छैन भन्ने सन्देश प्रवाह भएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
नेपालस्थित भारतीय दूतावासले एक महिनाअघि नोट सटही सुविधाबारे मोडालिटी माग गरेको थियो । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा समूह नै बनाएर सटहीबारे मोडालिटी तयार गरेको थियो । उक्त मोडालिटी भारतीय दूतावासलाई बुझाएको एक महिना बित्दा पनि कुनै जवाफ प्राप्त नभएको सिवाकोटीले बताए । ‘अहिलेसम्म हामीलाई कुनै जवाफ पनि दिएका छैनन्,’ उनले भने, ‘मिडियामा भारतीय टोली नेपाल आउन लागेको भन्ने खबर आएका छन् । तर, त्यसबारे हामीसँग कुनै संकेतसम्म नगरिएकाले विश्वास गर्ने ठाउँ छैन ।’
राष्ट्र बैंकका अधिकारी र व्यवसायीले पनि भारतले नेपालीसँग भएको भारु सटही सुविधा दिनेमा अझै आशावादी रहेको बताएका छन् ।