३१ असार २०८३, बुधबार

भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य घट्दैन : दाना उद्योग संघ

भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य घट्दैन : दाना उद्योग संघ

नेपाल दाना उद्योग संघले भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य नघट्ने जनाएको छ । 

दानाका लागि आवश्यक कच्चा पदार्थमा सरकारले ९ प्रतिशत कर लगाएपछि दानाको मूल्यवृद्धि गर्नुपरेको बताउँदै संघले कर पुरानै दर १.६ प्रतिशत बनाउन सरकारसँग माग गरेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै संघले सरकारसँग विभिन्न माग राखेको छ ।

भटमासको पिनामा लाग्दै आएको कर ९% बाट घटाएर  पुरानै दर १.६% हुनुपर्ने संघको माग छ ।
यस्तै विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भईरहेको मा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंगलादेश सरकारले निर्यातमा रोक लगाएको छ । संघले तत्काल नेपालको तर्फबाट निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कुटनीतिक पहलको लागि कार्य गर्नुपर्नेमा जोड दिएको छ ।

हाल नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन् । त्यसमा पनि ६० भन्दा बढि ठूलो लगानीका पेलेट फिडहरु स्थापना भईसकेको संघको भनाइ छ  । 

संघका अनुसार, दाना बनाउने कच्चापदार्थ मुख्यत : मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लीमेन्टहरुको अश्वभाविक मुल्य वृद्धिबाट उत्पादन लागत बढेको छ । 

आ.व. ०७४।०७५को बजेटसम्म दाना उद्योगहरुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु जस्तै : मकै तथा भटमासको पिना १.६% मा छुट्दै आएकोमा २०७५।२०७६ बाट मकैमा ५% र भटमासको पिनामा ९% सम्म कृषि सुधार शुल्क बढाएकाले स्वत दानाको मुल्यमा बृद्धि हुन गएको कुरा नकार्न सकिदैन । पशुपंक्षिको आहारमा प्रयोग हुने धेरैजसो कच्चापदार्थहरुको मुल्य बढेसँगै दानाको मुल्य पनि बढेको छ ।

विगत २ महिनादेखि सदर ८५ रुपैया प्रति के.जी रहेको भटमास पिना १०० र ३०–३२ रहेको मकैको रेट ३९ रुपैया प्रति के.जी रहेको छ जसको कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत  मुल्य पनि बढेको छ । मासु र अण्डा उत्पादन लागतमा दानाको ६०% को हाराहारी योगदान रहन्छ । 

दाना बनाउन आवश्यक पर्ने फिड सप्लीमेन्टहरुमा २५% देखि ३०% सम्म बृद्धि भएको छ । मकै करिव ६०% खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२% हुन जान्छ त्यसैले यसको प्रत्यक्ष प्रभाव दानाको मुल्यमा पर्ने संघले जनाएको छ  । 

यस्ता छन् संघको माग

  • भटमासको पिनामा लाग्दै आएको कर ९% बाट घटाएर  पुरानै दर १.६% हुनुपर्ने ।
  • विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भईरहेको मा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंगलादेश सरकारले निर्यातमा रोक लगाएको छ भने तत्काल नेपालको तर्फबाट नेपाल निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कुटनीतिक पहलको लागि कार्य गर्नुपर्ने 
  • मकैमा लाग्दै आएको कर ५% बाट घटाई पुरानै दर १.६ % कायम हुनु पर्ने ।
  • औषधीमा लाग्दै आएको कर १०% बाट घटाएर पुरानै दर १% कायम हुनु पर्ने ।
  • दीर्घकालीन रुपमा यी र यस्ता समस्याहरु समाधान गर्न बृहत रुपमा मकै तथा भटमास खेतीलाई प्रत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउने ।
  • आत्मनिर्भर भईसकेको नेपालको पोल्ट्री व्यवसायको दाना उत्पादन गर्ने उद्योगहरुलाई संरक्षण गर्ने तर्फ पहल गर्न र उत्पादन लागत कम गर्न पनि नेपालमा उत्पादन नहुने तथा अपुग हुने कच्चापदार्थमा भन्सार महसुलमा परिवर्तनको लागि आगामी बजेटमा यस संघ जोडदार माग गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्