
आफ्नै कोठामा राति पत्नीलाई कुटपिट गरी हत्या गरेर फरार भएका १ पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सोमवार पक्राउ गरेको छ ।
भोजपुर केराबारी घर भई हाल सूर्य विनायक नगरपालिका–५ कटुञ्जेस्थित डेरामा बस्ने २५ वर्षीय जीवन राईले पत्नी २५ वर्षीय मन्दिरा राईलाई आइतवार राति कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
राति कुटपिटबाट हत्या गरेपछि सोमवार बिहानै फरार भएका राईलाई प्रहरीले खोजतलासको क्रममा कटुञ्जेस्थित सिदार्थ स्कुल नजिकै आफन्तको कोठामा लुकिछिपी बसेको अवस्थामा सोमवारै पक्राउ गरेको नायब उपरीक्षक पाण्डेले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा पतिपत्नी मदिरा सेवन गरी प्रायः झगडा गरिरहने र आइतवार राति पनि दुवैले मदिरा सेवन गरेको अवस्थामा विवाद भई जीवनले कुटपिट गरेपछि घाइते मन्दिराको धेरै रक्तश्रावका कारण मृत्यु भएको उनको भनाइ छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।