
विवेकशील साझा पार्टीले साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेपछि मिलन पाण्डेले ध्यानाकर्षण जनाएका छन् । उनले अध्यक्ष रविन्द्र मिश्रले अवैधरुपमा आफ्नो समूहको बैठक बोलाएर कारवाही गरेको जनाएका हुन् ।
‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दूराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
उनले मिश्रलाई विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेको आरोपसमेत लगाएका छन् ।
साथै उनले कारवाहीको निर्णय अवैधानिक तरिकाले गरिएको भन्दै भ्रममा नपर्न अनुरोधसमेत गरेका छन् ।
उनले अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध रहेको पनि बताएका छन् ।
‘यसै प्रयोजनमा आजै बिहान हामीले विवेकशील साझा पार्टीमा हालका सम्पूर्ण केन्द्रीय समिति सदस्य समेत सहभागी २०१ सदस्यीय विवेकशील साझा पार्टी सुदृढीकरण अभियान को केन्द्रीय समिति घोषणा भएको छौँ,’ उनले लेखेका छन्, ‘यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो । यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो ।’
यस्तै उनले ‘निर्वाचन आयोगमा बुझाइएको कीर्ते दस्ताबेजलाई आयोगले खारेज गर्ने’ बताएका छन् । त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिने पनि उनको भनाइ छ ।