कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला कप क्रिकेटअन्तर्गत मंगलवार भएको खेलमा १ नम्बर प्रदेशले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको छ । जीतसँगै १ नम्बर प्रदेश समूह ‘ए’को विजेता बनेको छ ।
पहिला ब्याटिङ गरेको १ नम्बर प्रदेशले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११४ रन बनायो । ११५ रनको विजयी लक्ष्य पछ््याएको लुम्बिनी प्रदेशले ९ विकेटको क्षतिमा मात्र ४७ रन बनाउन सक्यो ।
१ नम्बर प्रदेशका लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन् । काजोल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले १५ रन बनाइन् ।
दोस्रो विकेटका लागि श्रेष्ठ र वेगमले ६२ रनको साझेदारी गरेका थिए । बलिङतर्फ लुम्बिनीका नेरी थापा, मधु डिसी र सरस्वती पुनले १/१ विकेट लिइन् ।
११५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले ९/९ रन बनाइन् ।
लुम्बिनीका ३ खेलाडी शून्यमा पवेलियन फर्किए भने ३ खेलाडी रन आउट हुन पुगेका थिए । बलिङतर्फ १ नम्बर प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
अलिशा खाडियाले २ र संगिता राईले १ विकेट लिइन् । १ नम्बर प्रदेशकी कप्तान क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
धनगढीको फाप्ला मैदानमा मंगलवारै भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले पराजित गर्यो । बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो ।
बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रन तथा हेलिशा गुरुङले २५ र अस्मिना कर्माचार्यले १६ रन बनाइन् । पहिलो विकेटका लागि श्रेष्ठ र गुरुङबीच ७२ रनको साझेदारी भएको थियो ।
बलिङतर्फ कर्णालीका दिव्या धामीले ३, एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले १ विकेट लिइन् ।
१३१ रनको विजय लक्ष्य पछ््याएको कर्णाली १८ दशमलव ३ ओभरमा ५१ रनमै समेटियो । कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । दिपा रानाले ९ रन बनाइन् । बलिङतर्फ बागमतीका आरती विडारी र विपिशा शाहीले ३/३ तथा सोनी पाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले १/१ विकेट लिइन् ।
खेलमा बागमतीकी कञ्चन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।