२० असार २०८३, शनिबार

कांग्रेस २ नम्बर प्रदेशको चुनाव : अबेर साँझसम्म मतदान हुने

कांग्रेस २ नम्बर प्रदेशको चुनाव : अबेर साँझसम्म मतदान हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत २ नम्बर प्रदेशको नयाँ नेतृत्वका लागि बिहीवार भइरहेको मतदान जारी छ ।

यससँगै उम्मेदवारहरूले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । 
    
बुधवार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण बिहीवार बिहान १० बजेदेखि मतदान शुरू भएको थियो ।

दिउँसो २ बजेसम्ममा ७०० जनाले मतदान गरेका निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । बिहीवार दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोके पनि मतदाताको लामो लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ । 

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान कार्यक्रम भइरहेको छ । अहिलेसम्म व्यवस्थित रूपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि २–२ जिल्ला गरेर ४ वटा बुथको व्यवस्था गरिएको छ । धनुषा–महोत्तरी, सिराहा– सप्तरी, सर्लाही– रौतहट र बारा– पर्साका गरेर ४ वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् । 

कांग्रेस प्रदेशको नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले २ नम्बर प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये ५ जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।  

प्रदेशका ८ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी २ हजार मतदाता रहेको बताइएको छ । यसैबीच कांग्रेसका नेता एवं पूर्व उपसभापति बिमलेन्द्र निधिले गोपाल धर्मशालामा पुगेर मतदान गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्