०९ असार २०८३, मंगलबार

पुनर्निर्माणको काम अन्तर्राष्ट्रिय प्राज्ञलाई अध्ययन गर्न काम लाग्ने गरी भएको छ : गृहमन्त्री खाँण

पुनर्निर्माणको काम अन्तर्राष्ट्रिय प्राज्ञलाई अध्ययन गर्न काम लाग्ने गरी भएको छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा ज्यादै महत्त्वपूर्ण कार्य सम्पादन गरेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा आयोजित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा गृहमन्त्री खाँणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको बताए ।

‘६ वर्षे कार्यकालमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका संरचना निर्माणमा महत्त्वपूर्ण कार्य सम्पादन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ,’ गृहमन्त्री खाँणले भने, ‘प्राधिकरणको काम यस सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञलाई पनि काम लाग्छ ।’

उनले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचना पुरातात्विक महत्त्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले मन लगाएर पूरा गरेको भन्दै सरकार र नेपाली जनताको तर्फबाट प्राधिकरणलाई धन्यवाद दिए ।

‘भूकम्पले भत्काएका भौतिक संरचना, पुरातात्विक संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण थियो । त्यो काम प्राधिकरणले छोटो समयमा मन लगाएर पूरा गरेको छ,’ गृहमन्त्री खाँणले भने, ‘प्राधिकरणले गरेको नागरिकलाई राहत हुने यो काम सहजै आकलन गर्न सकिने खालको थिएन । तर प्राधिकरणले पूरा गरेको छ ।’

उनले प्राधिकरणले गरेको कामको प्रसंशा गर्दै भने, ‘पुनर्निर्माणको तथ्यांक र कार्य तपाईंहरूले सबै विश्वभरका अनुसन्धानकर्ताहरूलाई अनुसन्धान गर्न काम लाग्ने खालको छ ।’

चुनौतीपूर्ण जिम्मेवारी प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको गृहमन्त्री खाँणको भनाइ थियो । ‘हिमाल आरोहीलाई सगरमाथा चढ्नुसरह चुनौतीपूर्ण कार्य प्राधिकरणका लागि पुनर्निर्माण गर्नु थियो । त्यो सफलता यहाँहरूको अथक प्रयास र मेहनतले सफल भएको छ । यसका लागि यहाँहरूलाई हार्दिक बधाई,’ गृहमन्त्री खाँणले भने । 

उनले मन्त्रालय मातहतको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अब पुनर्निर्माण प्राधिकरणले गरेका कामको प्राविधिक र प्रशासनिक काम र शुरू भएर सम्पन्न हुन नसकेका कार्यको पनि परामर्श गरेर टुंग्याउन लाग्ने बताए ।

पुनर्निर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई समेत उपयोग गरेर प्राधिकरण अघि बढ्ने उनको भनाइ थियो । ‘पुनर्निर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर सदुपयोग गर्दै कसरी अगाडि बढ्ने भन्ने जिम्मेवारी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको काँधमा आएको छ,’ गृहमन्त्री खाँणले भने, ‘प्राविधिक र प्रशासनिक काम मात्रै होइन, शुरू भएका राम्रा कामलाई पनि निरन्तरता दिनुहोला ।’

पुनर्निर्माण प्राधिकरणले २०७२ पुस १० गते काम शुरू गरेको थियो । पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी शहरी विकास मन्त्रालय र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पुनर्निर्माणमा काम गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई गृहमन्त्री खाँणले सम्मान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्